श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू सधैँ आम नागरिकको पक्षमा उभिने र उनीहरूका समस्यालाई सरकारसम्म पुर्याउन सामाजिक सञ्जालमा सक्रिय रहने गरेको बताएका छन्।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूलाई दैनिक हजारौँ सर्वसाधारणले आफ्ना समस्या सुनाउने गरेको र ती समस्या समाधानका लागि आफूले पहल गर्ने गरेको दाबी गरे।
अध्यक्ष साम्पाङले आफूले फेसबुकमा लेख्ने स्टेटसहरू ‘हेट स्टेटस’ नभई जनताका पीडा र भोगाइ भएको सुनाए। ‘यो हेट स्टेटस होइन, ३ करोड नेपालीले मलाई मेसेज पठाइरहेका हुन्छन्,’ उनले भने, ‘दिनमा करिब १५ सय कल जति आउँछ। कसैले आफू ठगिएको त कसैले बाढीपहिरोले क्षति पुर्याएको भन्दै गुहार माग्छन्।’
उनले हालैको एक घटना स्मरण गर्दै रोसी खोलामा बाढी आएर भौतिक क्षति हुन लाग्दा स्थानीयले आफूलाई फोन गरेर प्रधानमन्त्रीलाई जानकारी गराइदिन आग्रह गरेको सुनाए।
‘म सुतिरहेको बेला रोसी खोलाबाट फोन आयो, ४ वटा गाडी बगाउन लाग्यो, प्रधानमन्त्रीलाई फोन गरिदिनुस् भनियो,’ साम्पाङले भने, ‘त्यसैले म व्यक्तिगत कुरा मात्र नभई पब्लिकका कुराहरू स्टेटसका रूपमा लेखिरहेको हुन्छु।’
सम्बोधनका क्रममा साम्पाङले प्रधानमन्त्रीको पारदर्शिता र उत्तरदायित्वमाथि पनि प्रश्न उठाए। जनताले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न नपाउने अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘तपाईंहरूले प्रधानमन्त्रीलाई अहिलेसम्म प्रश्न सोध्न पाउनुभएको छ ? छैन । उहाँ एउटा सार्वजनिक पदमा बसेको मान्छे हो, उहाँको व्यवहार र क्रियाकलाप पारदर्शी हुनुपर्छ।’
उनले आफू सधैँ सञ्चारकर्मीहरूको पक्षमा रहेको र उनीहरूमाथि हुने दुर्व्यवहारविरुद्ध बोल्ने गरेको पनि उल्लेख गरे। पत्रकारहरूले प्रधानमन्त्री कार्यालयमा भोग्नुपर्ने सास्तीप्रति उनले थपे, ‘भोलि तपाईंहरूलाई केही नराम्रो हुँदा तपाईंहरूले बोलाइराख्नु पर्दैन, म आफैँ खम्बा भएर उभिन आउँछु। पत्रकारलाई दुर्व्यवहार भएको र उत्तर नदिएको मैले देखेको छु, त्यसको पक्षमा मैले बोलेको छु।’
अध्यक्ष साम्पाङले आफू जस्तै अरू जिम्मेवार पदमा बसेका व्यक्तिहरू पनि जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले सञ्चारकर्मीका प्रश्नहरू जनताकै प्रश्न भएको उल्लेख गर्दै सबैलाई प्रश्न सोध्ने र उत्तर पाउने वातावरण निर्माण गर्नुपर्ने बताए।
सामाजिक सञ्जालमा गरिने टिप्पणीहरूलाई जनताको आवाजको रूपमा लिनुपर्ने उनको तर्क थियो।
प्रकाशित: २७ वैशाख २०८३ १९:२८ आइतबार





