सांसद राजीव खत्रीले मध्यपुरथिमि नगरपालिकाको कमेरोटार जग्गा एकीकरण आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विगत २२ वर्षदेखि समस्याग्रस्त बन्दै आएको मध्यपुरथिमि नगरपालिकाको कमेरोटार जग्गा एकीकरण आयोजनालाई तत्काल सम्पन्न गर्न प्रभावकारी कदम चाल्ने बताए।
कमेरोटारस्थित आडाम्स थिमि टोलले शनिबार आयोजना गरेको नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा स्थानीवासीले आयोजना अलपत्र पारिँदा जनताले सास्ती खेप्नु परिरहेको गुनासो गर्दै आयोजना शीघ्र सम्पन्न गराउन सांसद खत्रीसमक्ष माग गरेका छन्। भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले आयोजनालाई शीघ्र सम्पन्न गराउनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्ने प्रतिबद्धता जनाए।
सांसद खत्रीले स्थानीयसँगको छलफलमा भने, 'आयोजनाको अवस्था र समस्याका बारेमा मैले जानकारी पाइसकेको छु। यसबारे विस्तृतमा बुझेर स्थगानीयसँगको सहकार्य र समन्वयमा कामलाई सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायलाई खबरदारी गर्नेछु। कुनै पनि बहानामा कुनै पनि काम रोकिनु हुँदैन, जग्गा एकीकरण आयोजनाको समस्या समाधानका लागि पहल गर्नेछु।'
पाँच वर्षमा सम्पन्न गर्नेगरी सुरु भएको आयाजना २२ वर्ष बितिसक्दा पनि अलपत्र पर्दा सास्ती भइरहेको गुनासो स्थानीयको छ। सडक कालोपत्र नहुँदा, खानेपानीको व्यवस्था नहुँदा, ढल तथा आवश्यक संरचनाको उचित व्यवस्थापन नहुँदा जनताले सास्ती व्यहोर्नु परेको गुनासो स्थानीयले गरेका छन्।
प्रकाशित: २९ चैत्र २०८२ ०७:२० आइतबार





