राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी पीडितहरूलाई आफूले जवाफ मात्र नभई समस्याको ठोस समाधान दिने बताएका छन्।
बिहीबार चुनावी प्रचारप्रसारका क्रममा चितवन पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
सञ्चारकर्मीले ‘सहकारी पीडितले तपाईंलाई किन भोट दिने ?’ भनी प्रश्न सोधेका थिए। सो प्रश्नको सामना गर्दै उनले यस विषयमा आफूले निरन्तर जवाफ दिइरहेको र आफू मात्र त्यस्तो व्यक्ति भएको दाबी गरे।
लामिछानेले भने, ‘हिजोदेखि आजसम्म जवाफ दिने एउटै मात्र मान्छे रवि लामिछाने हो। कसैले जवाफ दिएको छैन। फेरी पनि भन्छु, उहाँहरूले जवाफ होइन, समाधान पाउनुहुन्छ।’
उनले आफूले नगरेको गल्तीको सजाय समेत भोगिसकेको भाव व्यक्त गर्दै अब नतिजा दिनेमा ढुक्क हुन आग्रह गरे। ‘जवाफ त कति दिइयो दिइयो, नगरेको सजाय पनि भोगियो। तर अब समाधान दिन्छु, ढुक्क हुनुहोला,’ उनले थपे।
खुट्टाको उपचारपछि पहिलो पटक जिल्ला आएका लामिछाने बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर ओर्लिएका थिए। भरतपुर पुगेलगत्तै उनले चितवनको लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा पुगेर स्वस्तिशान्ति पूजा समेत गरे।
गत माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो। चोटमा संक्रमण देखिएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भई उपचार गराएर उनी आराम गरिरहेका थिए।
स्वास्थ्यमा सुधार आएसँगै आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि उनी आज चितवन पुगेका हुन्। लामिछाने यसपटक पनि चितवन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन्।
प्रकाशित: २२ माघ २०८२ १५:२८ बिहीबार





