स्वतन्त्र सांसद महावीर पुनले सरकारले बजेट नदिए पनि आफूले किताब बेचेरै वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा सांसद पदको शपथ ग्रहण गर्न पुगेका पुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषि औजार कारखाना चलाउन सरकारसँग हात नथाप्ने बताएका हुन्।
कारखाना सञ्चालनको विषयमा सोधिएको प्रश्नमा पुनले सरकारले आफ्नै विवेकले बजेट दिए राम्रो हुने तर आफूले माग नगर्ने बताए। ‘सरकारले आफ्नै बुद्धिले बजेट छुट्यायो भने ठिक छ, दिए दिन्छन् नत्र किताबै बेचेर चलाउने हो,’ उनले भने, ‘किताब बेचेरै चल्छ।’
यसअघि सरकारबाट बाहिरिएपछि आफ्नै पुरानो काममा फर्किने बताएका पुनले शिक्षा क्षेत्रको सुधारका लागि आफू संसद्मा आएको सुनाए।
मन्त्री हुँदा शिक्षा सुधारका लागि तीनवटा अध्यादेश ल्याउन खोजे पनि नसकेको बताउँदै उनले ती अधुरा कामलाई निरन्तरता दिन आफू चुनाव लडेको जानकारी दिए।
मन्त्री पद छाडेर फेरि सांसद बन्न दौडिएको र पदको लोभी भएको भन्दै आफूमाथि लागेको आरोपको उनले खण्डन गरे। ‘जसलाई पदको लोभ नै छैन, त्यसलाई लोभी पापी भन्नेको दिमाग सड्केको हो,’ पुनले भने, ‘त्यो कुरा नबुझेकोले भनेको हो।’
नयाँ बन्ने सरकारमा पुनः शिक्षामन्त्रीमा दोहोरिने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नलाई भने उनले पन्छाएका छन्। ‘मलाई थाहा छैन, भगवान् पशुपतिनाथलाई गएर सोध्नु,’ उनले भने।
प्रकाशित: १२ चैत्र २०८२ १५:३२ बिहीबार





