काठमाडौं क्षेत्र नं-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु पाण्डेले आफ्ना प्रतिस्पर्धी एवं उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङको अभिव्यक्तिप्रति टिप्पणी गर्न अस्वीकार गरेका छन्।
चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले अन्य दलको आलोचनाभन्दा पनि आफ्नो एजेन्डा र जनलहर मुख्य भएको बताएका हुन्।
सञ्चारकर्मीले ‘कुलमान घिसिङले राजु पाण्डे लगायतका उम्मेदवार मेरा लागि केही होइनन् भन्नुभएको छ नि ?’ भनी सोधेको प्रश्नमा पाण्डेले जवाफ फर्काउँदै भने, ‘उहाँले के भन्नुभयो, त्यो मलाई सरोकारको विषय होइन। म उहाँको कुरा गर्न चाहन्न, म मेरो कुरा गर्छु। तपाईंहरू तुलना गर्ने काम गर्नुहोस्।’
पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देशको आवश्यकता भएको जिकिर गरे। उनले अन्य पार्टीको तुलनामा रास्वपाप्रति जनताको आकर्षण बढेको दाबी गरे।
‘रास्वपाको पक्षमा जनताको माया कति छ भन्ने कुरा हाम्रा सभापति र वरिष्ठ नेताहरू घरदैलोमा जाँदा देखिएको जनलहरले पुष्टि गर्छ,’ पाण्डेले भने, ‘जवाफ जनताको माझमै छ, मैले मूल्याङ्कन गरिरहनु पर्दैन।’
आफ्नो क्षमतामाथि उठेको प्रश्नको जवाफ दिँदै पाण्डेले आफू काठमाडौं महानगरको पूर्व नगर प्रहरी प्रमुख मात्र नभई शैक्षिक र व्यवस्थापकीय रूपमा पनि योग्य रहेको स्पष्ट पारे।
तत्कालीन काठमाडौं महानगरका मेयर एवं हालका रास्वपाका वरिष्ठ नेता बालेन शाहसँगको निकटताका कारण मात्र टिकट पाएको भन्ने आरोपको खण्डन गर्दै उनले भने, ‘यहाँ जसले जे आरोप लगाए पनि हुन्छ। तर, म नगर प्रहरी प्रमुख मात्र थिइनँ, मैले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेको छु। सुशासन र सहरी व्यवस्थापनमा मेरो अनुभव र पढाइ नै मेरो योग्यता हो।’
उनले गोकर्णेश्वर र कागेश्वरी मनोहरा क्षेत्रको भूगोल र समस्या आफूले राम्रोसँग बुझेको भन्दै सहरी सुशासन कायम गर्न आफू सक्षम रहेको दाबी गरे।
आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं-३ मा रास्वपाका राजु पाण्डे र उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
प्रकाशित: १० फाल्गुन २०८२ १७:१३ आइतबार





