१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

झुटो आरोप र चरित्र हत्यासँग डराउँदिन - रक्षा बम

जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले सामाजिक सञ्जाल र मिडियामा आफ्नो चरित्र हत्या गर्ने गरी फैलिएका अफवाह र भ्रमबारे स्पष्टीकरण दिएकी छन्।  

उनले आफूलाई माओवादीको झोले, एमाले कार्यकर्ता, विदेशी एजेन्ट भनेर लगाएका सबै आरोपको खण्डन गर्दै आफू सधैँ सत्य र न्यायको पक्षमा आवाज उठाइरहने बताएकी छन्। जेन-जी आन्दोलनपछि आफूलाई लगाएका आरोपहरु निराधार रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।  

उनले गरिखान देऊ अभियानको क्रममा १९९ घण्टा महानगर अगाडि धर्ना बसेको र त्यसपछि लुम्बिनीबाट सिंहदरबारसम्म हिँडेर संकलन गरिएको सुझावपत्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन गएको समयलाई लिएर जेन-जी आन्दोलनपछि आफूलाई माओवादीको झोले भनेको बताएकी छन्।  

कुनै एक राजनीतिक पार्टीका सदस्यसँग आफ्नो नाम मिलेको आधारमा आफूलाई एमाले भनिएको र गाली गरेको विषयमा पनि उनले गुनासो गरेकी छिन्।  

जेन-जी आन्दोलनपछि आफूलाई विदेशी एजेन्ट भनेको बताउँदै उनले सन् २०२२ को युएसवाईसी ब्याच भएको र त्यहाँ सूचनाको हक सम्बन्धी तालिम लिएपछि वर्तमान समयसम्म त्यसै सम्बन्धी काम गरिरहेको बताएकी छन्। उनले कुनै फेलोसिप वा ट्रेनिङ लिएको आधारमा आफूलाई विदेशी एजेन्ट भनेर आरोप लगाउनुमा मानिसहरुको उग्र राष्ट्रवादी सोच भएको टिप्पणी गरेकी छन् ।  

बमले आन्दोलन सकिएको एक महिनाको अवधि पनि दशकभन्दा लामो भएको बताउँदै आफूलाई आएका विभिन्न डर र धम्कीको कारण आफू पछि नहट्ने बताइन । सधैँ न्यायको पक्षमा उभिने बताएकी उनले आन्दोलनको मूल मुद्दा नबिर्सेको र सहादत प्राप्त र घाइतेले न्याय पाउनै पर्ने र देशमा लोकतन्त्र, संविधान, विधिको शासन र शान्ति कायम राख्न कुनै समूहले अराजकता फैलाउन खोजेमा खबरदारी गर्ने बताएकी छन् ।

त्यसैगरी सेप्टेम्बर ८ मा सरकारले गरेको दमनको आक्रोशमा तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गरिरहको बेला राजीनामा आएपछि जितको खुशीमा सिंहदरबार अगाडी खिचेको तस्बिरलाई राजनीतीकरण गर्न नहुने तर सिंहदरबार जलाउने र अवोध व्यक्तिमाथि गोली हान्ने दुवै पक्षमाथि अनुसन्धान हुनुपर्ने बताएकी छन्।

प्रकाशित: २३ आश्विन २०८२ १९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App