श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विरोध गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले राज्यको ठुलो रकम खर्च हुने भन्दै यस्तो व्यवस्थाप्रति असन्तुष्टि जनाएका हुन्। स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिँदा पनि वार्षिक नौ करोड ९० लाख र पाँच वर्षमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने उनले उल्लेख गरेका छन्।
यसअघि खर्च कटौतीका लागि खारेज गरिएको यो व्यवस्थालाई नयाँ सरकार आएपछि पुनः ब्युँताउने तयारी भइरहेको छ।
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सोमबार बसेको संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण र व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
साम्पाङले सोही निर्णयको विरुद्धमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
प्रकाशित: २ वैशाख २०८३ ०८:२९ बुधबार





