नेकपा (एमाले) का केन्द्रीय सदस्य राजीव पहारीले ११औं महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउन आह्वान गरेका हुन्। सोमबार (आज) बाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो आह्वान गरेका हुन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पहारीले ओलीको नेतृत्वमा जाँदा मात्रै आउँदो निर्वाचनमा बहुमत ल्याउन सकिने जिकिर गरे। '११औं महाधिवेशनबाट पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाऔँ,' पहारीको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।
अहिलेका लागि पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउनुपर्ने चुनौती रहेको र त्यसका लागि ओली नै चाहिने उनले बताए।
अर्कोतिर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्वका लागि स्पष्ट आकाङ्क्षा व्यक्त गरेकी छन्। उनले पार्टी सदस्यता नवीकरण गरिसकेको बताएकी छन् तर, पार्टीले 'पेन्डिङ' रहेको जनाएको छ। यही विषयलाई लिएर एमालेका नेताहरू विभाजनोन्मुख छन्। यही पृष्ठभूमिमा पहारीले ओलीको पक्षमा बोलेका हुन्।
प्रकाशित: ५ श्रावण २०८२ १८:१९ सोमबार

