२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : चुनौतीसँगै उदय भएको रास्वपा र खुम्चिएका पुराना दल

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेत दिएको छ। यसपटकको निर्वाचनमा नयाँ दल र युवा उम्मेदवारहरूको जित धेरै देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर जित हासिल गर्दै प्रमुख राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गरेको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशका धेरै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। कोशी प्रदेशदेखि सुदूरपश्चिमसम्म पार्टीका उम्मेदवारहरू विजयी भएका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशको झापाका पाँचै निर्वाचन क्षेत्रमा जित हात पारेको छ । झापा-५ बाट बालेन्द्र साहले ६८ हजारभन्दा बढी मत प्राप्त गर्दै प्रभावशाली जित हासिल गरेका छन्। त्यसैगरी  झापा-१ बाट निशा डाँगी, झापा-२ बाट इन्दिरा राना मगर, झापा-३ बाट प्रकाश पाठक र झापा ४-बाट शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन्।  

मोरङका सबै छ निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ। मोरङ १ बाट यज्ञमणि न्यौपाने, मोरङ २ बाट कृष्णकुमार कार्की, मोरङ ३ बाट गणेश कार्की, मोरङ ४ बाट सन्तोष राजवंशी, मोरङ ५ बाट आशा झा र मोरङ ६ बाट रुबिना आचार्य निर्वाचित भएका छन्। 

यता सुनसरी २ बाट लालबिक्रम थापा, सुनसरी ३ बाट अशोककुमार चौधरी र सुनसरी ४ बाट दीपककुमार साह विजयी भएका छन्। ओखलढुंगाबाट विश्वराज पोखरेल तथा उदयपुर १ बाट पारसमणि गेलाल र उदयपुर २ बाट सूर्यबहादुर तामाङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन्। 

मधेस प्रदेशमा पनि रास्वपाले व्यापक जित हात पारेको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।

बागमती प्रदेशमा पनि काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ। काठमाडौंका १० मध्ये अधिकांश क्षेत्रमा सो पार्टीका उम्मेदवार विजयी भएका छन्। चितवन २ बाट रवि लामिछाने, चितवन १ बाट हरि ढकाल र चितवन ३ बाट सोविता गौतम निर्वाचित भएका छन्।  

ललितपुर ३ बाट तोसीमा कार्की, भक्तपुर २ बाट राजीव खत्री, धादिङ १ बाट आसिका तामाङ र नुवाकोट २ बाट अच्यूतम लामिछाने पनि  पार्टीबाट निर्वाचित भएका छन्। 

गण्डकी प्रदेशमा गोरखा, कास्की, तनहुँ, स्याङजा, नवलपरासी (पूर्व), बागलुङ र पर्वतका निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ। तनहुँ १ बाट स्वर्णिम वाग्ले र कास्की ३ बाट बिना गुरुङ निर्वाचित भएका छन्।  

लुम्बिनी प्रदेशमा रूपन्देही, दाङ, कपिलवस्तु, गुल्मी, बाँके, बर्दिया र नवलपरासी (पश्चिम) लगायतका निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। 

कर्णाली प्रदेशमा सुर्खेत २ बाट रमेश कुमार सापकोटा विजयी भएका छन् भने सुदूरपश्चिम प्रदेशमा कैलाली, बैतडी, डडेलधुरा र कञ्चनपुरका विभिन्न निर्वाचन क्षेत्रमा पनि सो पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।  

राष्ट्रिय दलको रुपमा रहेको नेपाली कांग्रेसले भने यस पटक आफ्ना उमेदवारको अपेक्षाकृत जित निकाल्न सकेन । प्रत्यक्षमा १८ सिट मात्रै जितेको काग्रेसले कोशी प्रदेशको पाँचथरबाट नरेन्द्रकुमार केरुङ, इलाम १ बाट निश्कल राई, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाशसिंह कार्कीलाई निर्वाचित गराउन सक्यो ।

त्यस्तै मधेस प्रदेशको रौतहट २ बाट मोहम्मद फिरदौस आलम विजयी भएका छन् भने बागमती प्रदेशको रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन्  । उता गण्डकी प्रदेशका मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन्। 

लुम्बिनी प्रदेशको पाल्पा १ बाट सन्दीप राना र कपिलवस्तु ३ बाट अभिषेक प्रताप शाह निर्वाचित भएका छन् भने कर्णाली प्रदेशको मुगुबाट खड्ग शाही, हुम्लाबाट जयपति रोकाया, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेख १ बाट बासना थापा र सुर्खेत १ बाट विष्णुबहादुर खड्का विजयी भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछाम १ बाट भरतकुमार स्वार र डोटीबाट भरतबहादुर खड्का निर्वाचित भएका छन्। 

यो निर्वाचनमा सबै क्षेत्रमा रास्वपाले आफ्नो उमेदवारी खडा गर्दा सबैभन्दा बढि क्षति नेकपा एमालेले व्यहोनु पर्‍यो। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ९ सिट मात्रै प्रत्यक्षमा जितेको छ । जसमा ताप्लेजुङबाट क्षितिज थेबे, इलाम २ बाट सुहाङ नेम्वाङ, संखुवासभाबाट अर्जुनकुमार कार्की र धनकुटाबाट राजेन्द्र कुमार राई निर्वाचित भएका छन्। त्यस्तै लुम्बिनी प्रदेशको बाँके २ बाट मोहम्मद इश्तियाक राई, कर्णाली प्रदेशको दैलेख २ बाट लक्ष्मीप्रसाद पोखरेल तथा  सुदूरपश्चिम प्रदेशका अछाम २ बाट यज्ञबहादुर बोगटी, बझाङबाट ऐनबहादुर महर र दार्चुला बाट गणेशसिंह ठगुन्ना विजयी भएका छन्।   

२०६४ मा बहुमत प्राप्त गरेको तत्कालिन नेकपा माओवादी केन्द्र अर्थात वर्तमान समयको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ सिटमा मन बिसाएको छ । यस निर्वाचनमा यस पार्टीबाट सिट जित्नेमा धनुषा १ बाट मातृका प्रसाद यादव, सिन्धुपाल्चोक २ बाट युवराज दुलाल, रुकुम (पूर्व)बाट पुष्पकमल दाहाल र रोल्पाबाट वर्षमान पुन निर्वाचित भएका छन्। 

त्यसैगरी कर्णाली प्रदेशका सल्यानबाट रमेशकुमार मल्ल, डोल्पाबाट धनबहादुर बुढा, कालिकोटबाट महेन्द्रबहादुर शाही र रुकुम (पश्चिम) बाट गोपाल शर्मा पनि सो पार्टीबाट निर्वाचित भएका छन्। 

श्रम संस्कृति पार्टीबाट प्रत्यक्षमा ३ सिट प्राप्त भएको छ । जसमा भोजपुरबाट ध्रुवराज राई, सुनसरी-१ बाट हर्कराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन्। नयाँ बनेको यस राजनीतिक दलले प्रत्यक्षमा ३ सिट प्राप्त गर्दा अन्य पुराना दलहरु भने शून्य सिटमा सिमित छन् । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेशको जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका छन् भने  गण्डकी प्रदेशको म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।  

यस पटकको निर्वाचनमा विशेषगरी युवा उम्मेदवारहरूको उपस्थिति बलियो देखिएको छ। धेरै निर्वाचन क्षेत्रमा युवा नेताहरूले पुराना राजनीतिज्ञहरूलाई पराजित गर्दै संसद प्रवेश गरेका छन्। 

यो निर्वाचन परिणामले पुराना राजनीतिज्ञलाई मात्रै विस्थापित गरेको छैन, नयाँ संस्कारसमेत स्थापति गरेको छ । जसको कारण युवाहरुले देशको दिशा निर्देश मात्रै हैन भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ । जसको लागी निर्वाचनको मत परिणाम मात्रै होइन कार्यसम्पादन पनि उच्च हुन आवश्यक देखिएको छ ।  

प्रकाशित: २८ फाल्गुन २०८२ १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App