२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : सहमति नजुट्दा जुम्ला कांग्रेसमा विवाद

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंसिर २४ गतेदेखि निरन्तर बैठक बसेको नेपाली कांग्रेस जुम्ला अझै पनि उम्मेदवार छनोटको निर्णायक मोडमा पुग्न सकेको छैन। 

चार दिनसम्म चलेका औपचारिक, अनौपचारिक छलफल, आन्तरिक संवाद र शक्ति सन्तुलनका गणनापछि पनि नाम टुङ्गो नलाग्दा जिल्लाभित्रको आन्तरिक राजनीति सतहमा आएको छ। नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीका अनुसार छलफल सामान्य चरण पार गरिसकेको भए पनि औपचारिक निर्णयको तहमा पुग्न सकेको छैन।

‘बहस धेरै भइसकेको छ, तर सहमतिका बिन्दुमा पुग्न कठिन भइरहेको छ,’ उनले भने, ‘आइतबारसम्म सहमतिका आधारमा नाम सिफारिस गर्ने प्रयास भइरहेको छ।’ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुरुआतमा सात जनाले दाबी गरेकामा अहिले तीन जनामा नाम सीमित भएको छ। पूर्व सांसद कान्तिका सेजुवाल, कांग्रेस जुम्लाका पार्टी सभापति कर्णबहादुर शाही र पूर्व उपसभापति खड्कबहादुर सेजुवालबीच अन्तिम प्रतिस्पर्धा देखिएको छ। यद्यपि, एक जनामा सहमति जुटाउन नसक्दा बैठक लम्बिँदै गएको छ।

पार्टीका अधिकांश नेता, कार्यकर्ता सभापति शाहीको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा देखिए पनि समानुपातिक र राष्ट्रियसभाको विवादले प्रत्यक्षतर्फ पनि गाँठो कसिएको छ। ‘एक ठाउँमा सहमति नहुँदा त्यसको असर सबै तहमा परेको छ,’ एक नेताले भने। समानुपातिकतर्फ सबैभन्दा ठुलो पेच देखिएको छ। १५ जनासम्म आकांक्षी भएपछि उम्मेदवार छनोट झन् जटिल बनेको छ। संस्थापन इतर समूहले धनबहादुर बस्नेतको नाम मात्र सिफारिस गर्नुपर्ने अडान कायमै राखेपछि छलफल निर्णायक मोडमा पुग्न सकेको छैन।

आकांक्षी धेरै र सिट सीमित हुँदा असन्तुष्टि व्यवस्थापन कांग्रेसका लागि चुनौती बनेको छ। राष्ट्रियसभातर्फ पूर्व वन राज्यमन्त्री भक्तबहादुर रोकाया र कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नाममा छलफल भए पनि अन्ततः एक जनाको मात्र नाम सिफारिस गर्नुपर्ने विषयमा मतभेद देखिएको छ। संस्थापन इतर पक्षले रोकायाको एकल नाममै जोड दिँदै आएको छ, जसले सहमति प्रक्रिया थप पेचिलो बनाएको छ। 

मंसिर २४ गतेको बैठकमा आकांक्षीहरूको सूची तयार गरिएको थियो। मंसिर २५ गते बसेको बैठकमा उपस्थित अधिकांश नेता, कार्यकर्ताले प्रतिनिधिसभामा सभापति कर्णबहादुर शाही, राष्ट्रियसभामा भक्तबहादुर रोकाया र समानुपातिकमा धनबहादुर बस्नेतको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा हात उठाएका थिए। तर, नेताहरूबिच शक्ति सन्तुलन र भागबन्डाको कुरामा सहमति नजुट्दा त्यो निर्णय औपचारिक बन्न सकेन।

यसबिच, पूर्व सांसद कान्तिका सेजुवाललाई जुम्लाबाट कांग्रेसको बलियो विकल्पका रूपमा हेरिएको छ। उनी चन्दननाथ नगरपालिकाकी नेपालकै पहिलो निर्वाचित महिला मेयर हुन्। समानुपातिक सांसद भइसकेकी सेजुवाल यसपटक प्रत्यक्ष निर्वाचनमार्फत जनमत परीक्षण गर्ने चाहनासहित संगठन सुदृढीकरण र नेता–कार्यकर्ता समेट्ने अभियानमा सक्रिय देखिन्छिन्। लामो छलफलका बाबजुद उम्मेदवार टुङ्गो नलाग्दा तल्लो तहका कार्यकर्तामा अन्योल बढ्दै गएको छ।

निर्वाचनको समय नजिकिँदै गर्दा नेतृत्वमाथि सहमतिको दबाब पनि बढ्दो छ। प्रवक्ता गिरीका अनुसार परिस्थिति जस्तो भए पनि आइतबारसम्म आपसी समझदारीका आधारमा उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्ने तयारी कांग्रेस जुम्लाले गरेको छ। चार दिनको निरन्तर बैठकपछि पनि सहमति नजुट्नुले जुम्ला कांग्रेसभित्रको शक्ति सन्तुलन, आकांक्षा र आन्तरिक प्रतिस्पर्धा आगामी निर्वाचनको निर्णायक मुद्दा बनेको स्पष्ट संकेत दिएको छ।

प्रकाशित: २८ मंसिर २०८२ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App