२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

गृहले भन्यो- चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोग नगर्नू

गृह मन्त्रालयले राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका क्रममा नेपालको राष्ट्रिय झण्डा प्रयोग नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको हो।

आसन्न निर्वाचनलाई लक्षित गर्दै मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोगलाई लिएर मापदण्ड स्मरण गराएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा ‘निर्वाचन आचारसंहिता, २०८२’ को व्यवस्थालाई कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

निर्वाचन आचारसंहिताको परिच्छेद ४, दफा १३ को खण्ड (न) ले चुनावी प्रचारमा राष्ट्रिय झण्डाको प्रयोगलाई निषेध गरेको छ।

‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक अन्य अवस्थामा निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न वा गराउन हुँदैन।’

अर्थात्, कुनै पनि दलले आफ्नो र्‍याली वा सभामा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा बोक्न पाउने छैनन् भने अन्य प्रकारका प्रचार सामग्री वा विज्ञापनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ। यो व्यवस्था उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले चुनावमा मात्र नभई अन्य समयमा पनि झण्डाको अपमान हुने काम नगर्न सचेत गराएको छ। मन्त्रालयले व्यापारिक प्रयोजनका लागि विज्ञापनमा झण्डा राख्न, कम्मरभन्दा मुनिको भागमा लगाउने कपडामा झण्डाको चित्र छाप्न र झण्डालाई च्यात्न वा जलाउन निषेध गरिएको स्मरण गराएको छ।

‘मुलुकी अपराध संहिता, २०७४’ को दफा १५१ ले राष्ट्रिय झण्डाको अपमान गर्नेलाई सजायको व्यवस्था गरेको छ। मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीहरूलाई आफ्नो क्षेत्रमा झण्डाको प्रयोग कार्यविधि र आचारसंहिता अनुसार भए-नभएको अनुगमन गर्न समेत निर्देशन दिएको छ।

प्रकाशित: ११ माघ २०८२ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App