गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा देखिएका कानुनी जटिलता फुकाउन सरकार तयार रहेको बताउँदै कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।
मंगलबार सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित आयोजना निर्माण स्थलको स्थलगत अवलोकन गर्दै गृहमन्त्री अर्यालले आयोजनाका प्राविधिक र प्रशासनिक समस्या समाधानमा आफूले पहलकदमी लिने प्रतिबद्धता जनाएका हुन्।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा वीरेन्द्रनगर आइपुगेका मन्त्री अर्यालले आयोजना स्थल पुगेर त्यहाँको भौतिक तथा वित्तीय प्रगति र विद्यमान चुनौतीबारे जानकारी लिएका थिए।
निरीक्षणका क्रममा उनले भने, ‘कानुनी अप्ठ्यारा के छन्, त्यो फुकाउन सरकार तयार छ। तर, राष्ट्रिय गौरवको यो आयोजनाको काम अब ढिलासुस्ती हुन भएन। तोकिएकै समयमा सम्पन्न हुनुपर्यो।’
.jpeg)
आयोजनाको चर्चा २०६७ सालदेखि नै सुनिँदै आएको स्मरण गराउँदै मन्त्री अर्यालले परियोजना छिटो सम्पन्न भएमा तराई र कर्णाली प्रदेशका नागरिकले सिँचाइ सुविधा पाउनुका साथै देशले जलविद्युत र आर्थिक क्षेत्रमा आमूल परिवर्तन महसुस गर्न सक्ने बताए।
अवलोकनका क्रममा आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाको हालसम्मको प्रगति विवरण पेश गरेका थिए। पाठकका अनुसार आयोजनाले हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

‘१२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ,’ इन्जिनियर पाठकले मन्त्री अर्याललाई जानकारी गराउँदै भने, ‘अहिले इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका कामहरू बाँकी रहेकाले परियोजनाको गति केही सुस्त देखिएको हो।’
निरीक्षण भ्रमणमा गृहमन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल, सहसचिव आनन्द काफ्ले, सूचना अधिकारी तथा उपसचिव रमा आचार्य लगायत मन्त्रीको निजी सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ८ पुस २०८२ १९:०३ मंगलबार





