गृहमन्त्री सुधन गुरुङले मन्त्रालयबाटै सर्वसाधारणको गुनासो सुन्न थालेका छन्। गाउँबाट काठमाडौं आउने सर्वसाधारणले भोगेका समस्या र सरकारसँग राखेका अपेक्षाबारे गृहमन्त्रीले मन्त्रालयमै छलफल गर्न थालेका हुन् ।
उनले यो पहललाई निरन्तरता दिने दावी गरेका छन् । गाउँबाट आएका नागरिकले आफूले भोगेका पीडा, आफ्ना काम, शक्ति र पहुँचका भरमा हुने कामले पाएको सास्ती लगायतका गुनासो गरेको पनि उनको सचिवालयले जनाएको छ ।
गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन् । सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए।
गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको सहभागीले बताएका छन् ।
प्रकाशित: १८ चैत्र २०८२ १८:५० बुधबार

