‘जेन जी’ पुस्ताको प्रदर्शनमा भएको प्रहरी दमन र १७ जना प्रदर्शनकारीको मृत्युपछि सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै गृहमन्त्री रमेश लेखकविरुद्ध चर्को आवाज उठेको छ।
पार्टीका केन्द्रीय सदस्यदेखि युवा नेताहरूले लेखकको तत्काल राजीनामा माग गर्दै, राजीनामा नदिए पार्टीले सरकारबाट फिर्ता बोलाउनुपर्ने र कांग्रेस सरकारबाटै बाहिरिनुपर्ने दबाब दिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकले युवाहरूको मृत्युको जिम्मेवारी लिनुपर्ने बताए। ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ।’
यसैगरी, नेविसंघकी पूर्व नेतृ एलिजा ढकालले गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तानाशाहीको सहयोगी’ को संज्ञा दिएकी छन्।
उनले कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गरिन्। ‘कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसहरुको ज्यानभन्दा महत्त्वपूर्ण होइन,’ ढकालले भनिन्, ‘नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ।’
अर्का युवा नेता व्रितान्त खनालले प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै कांग्रेस सरकारबाट तुरुन्त फिर्ता हुन माग गरेका छन्। उनले पार्टीलाई चेतावनी दिँदै भने, ‘अझै हेरेर बस्ने भए, हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं।’
नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिँदै आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाए। ‘यो अपराधी सरकारको साक्षी बस्नेहरु अपराधीबाहेक केही हुन सक्दैनन्। हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरुलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन,’ शाहीले भने, ‘यो आन्दोलन अब हाम्रा बच्चाहरुको मात्र होइन हाम्रो पनि हो।’
प्रकाशित: २३ भाद्र २०८२ १८:०१ सोमबार





