गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित समारोहमा आइजिपी डा. केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले शान्ति सुरक्षा र जनसेवाका क्षेत्रमा देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।
गृहमन्त्री गुरुङले भने- ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्नुहोस्। नागरिकले सुरक्षित र सम्मानित महसुस गर्ने वातावरण बनाउनु प्रहरीको पहिलो कर्तव्य हो।’
उनले विशेषगरी फिल्डमा अहोरात्र खटिने तल्लो तहका प्रहरी जवानहरूको मनोबल उच्च राख्न संगठनको नेतृत्वलाई आग्रह गरे।
प्रहरीलाई आवश्यक स्रोत-साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै गृहमन्त्री गुरुङले भने- ‘प्रहरीलाई आवश्यक स्रोत-साधन दिन सरकार तयार छ। कुनै काममा गाह्रो-अप्ठ्यारो आइपरे त्यसलाई सम्बोधन गर्न गृह मन्त्रालय सधैँ तत्पर छ।’
प्रकाशित: १८ कार्तिक २०८३ १९:५१ बुधबार





