प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्।
आँखामा देखिएको स्वास्थ्य समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षणको रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएका हुन्। संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालो सहन कठिन हुने तथा आँखामा सुख्खापनको समस्या रहेको उल्लेख गरिएको छ।
स्वास्थ्य परीक्षण प्रतिवेदनमा उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा प्रश्न उठ्ने गरेको भन्दै कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका थिए।
सभामुखको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको प्रतिवेदनसहित संसद् सचिवालयमा पत्र बुझाउनुपर्ने व्यवस्था गरेको थियो।
प्रकाशित: ९ भाद्र २०८३ ११:५४ मंगलबार





