श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद् हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको दाबी गर्दै तत्काल राजीनामा दिन माग गरेका छन्।
सुकुम्बासी बस्तीमा सरकारले ‘आतंककारी शैली’ मा डोजर चलाएको भन्दै उनले व्यवस्थापनको सट्टा विस्थापन गरेर सरकारले मानवअधिकार हनन गरेको आरोप लगाए।
मंगलबार सामाजिक संजालमा एक भिडियो राख्दै अध्यक्ष साम्पाङले थापाथली, मनोहरालगायतका बस्तीको स्थलगत अवलोकन गर्दा अत्यन्तै उराठलाग्दो स्थिति देखेको सुनाए।
पूर्वतयारी र विकल्पविना डोजर चलाइएको भन्दै उनले भने, ‘सिट्ठी बजाएर डोजर लगाउँदा मानिसले सामानसमेत निकाल्न पाएनन्, कतिको पैसा र सामान इँटाको थुप्रोमुनि पुरिएको छ।’
वास्तविक सुकुम्बासी र हुकुम्बासीलाई चामलमा ढुंगा केलाएजस्तै छुट्याएर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ। विस्थापितलाई राखिएको होल्डिङ सेन्टरको अवस्था दयनीय रहेको, बालबालिका विद्यालय जान नपाएको र बिरामीहरू भोकभोकै बस्नुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
संसद्लाई छलेर दुई–चार जनाको सल्लाहमा अध्यादेशमार्फत देश चलाउन खोजिएको भन्दै साम्पाङले प्रधानमन्त्री शाहको आलोचना गरे। त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि देशमा महँगी नियन्त्रण गर्न नसक्नु सरकारको चरम गैरजिम्मेवारीपन भएको उनको ठहर छ।
राजनीतिको नाममा मानवीयता गुमाउन नहुने भन्दै उनले सरकारलाई प्रहरीको लाठी, बुट र बन्दुकको भरमा शासन नगर्न चेतावनी दिए। देशभरका सुकुम्बासी र श्रमजीवीलाई सरकारको दमनकारी कदमविरुद्ध संगठित भएर आवाज उठाउनसमेत उनले आह्वान गरेका छन्।
‘यो सरकारले जनतालाई दुःख दिने र तर्साउने काम मात्रै गरेको छ,’ साम्पाङले भनेका छन्, ‘अब राजीनामा दिएर बाटो प्रशस्त गरिदिनु नै उचित हुन्छ।’
प्रकाशित: २२ वैशाख २०८३ १५:०४ मंगलबार





