३० कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

छठ घाटमा पुगेका गगन, रवि र सभामुखलाई ज्ञानेन्द्रको आग्रह : हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अघि बढौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संसदबाटै विधेयक पारित गराउन पहल गर्न आग्रह गरेका छन्।

छठ पर्वका अवसरमा प्रतिपक्षी दलका सभापति गगन थापा, सत्तापक्षका सभापति रवि लामिछाने र सभामुख डोलप्रुाद अर्यालले विभिन्न स्थानमा पुगेर आस्था प्रकट गरेको प्रसंग उल्लेख गर्दै उक्त आग्रह गरेका हुन्। उनीहरूले देखाएको धर्म, संस्कार र संस्कृतिप्रतिको आस्था राम्रो भएको पनि शाहीले बताए।

उनले धर्म र संस्कृतिप्रति आस्था राख्ने राजनीतिक नेतृत्वलाई हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अब ढिलाइ नगर्न आग्रह गरेका छन्।

'छठ पर्वका नाममा प्रतिपक्षी दलका सभापति गगन थापा, सत्तापक्षका सभापति रवि लामिछाने र देशका सभामुखज्यूले विभिन्न ठाउँमा पुगेर आस्था प्रकट गर्नुभएको देखियो। धर्म, संस्कार र संस्कृतिप्रतिको यो आस्था साँच्चै राम्रो कुरा हो,' सामाजिक सञ्जालमार्फत शाहीले भने, 'अब तपाईंहरूलाई मेरो आग्रह छ– नेपालको हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आगामी संसद्बाटै विधेयक पारित गराउन पहल गर्नुस्। धर्म र संस्कृतिप्रति यति धेरै आस्था रहेछ भने अब ढिलो किन गर्ने? छिटोभन्दा छिटो हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अघि बढौँ।'

त्यस्तै, सुनसरीको कप्तानगञ्जमा आफ्नो धर्म र परम्पराअनुसार पूजा गरिरहेका तीन युवालाई गोली हानी हत्या गरिएको घटनामा संलग्न प्रहरी अधिकारी र गोली चलाउन आदेश दिने तत्कालीन गृहमन्त्रीलाई कानुनी कठघरामा उभ्याएर कारबाही गर्न पनि उनले माग गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App