कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरवारभित्र निर्माणाधीन संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरि काम भइरहेको बताएका छन् ।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा शुक्रबार छलफल भएका थियो । छलफलमा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमा काम नसक्ने कन्ट्राक्टरप्रति मन्त्रालय निर्मम हुने पनि बताए ।
समिति सदस्यहरुले उठाएका जिज्ञासामा जवाफ दिँदै सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही नगर्न सरोकारवालालाई पटक पटक ध्यानाकर्षण गराइसकेको बताए । थप भएको अवधिभित्रै काम सक्ने विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय र विभागबाट अनुगमन भइरहेको उनको भनाइ थियो ।
‘नयाँ संसद् भवनको काम समयमै नसकिएको बारे सबै जानकार छौं । तोकिएको समयमा काम नगर्नेहरु मन्त्रालयले कडाइ गरिरहेको छ । कीर्तिपुर क्रिकेट स्टेडिममा जरीवाना लगाएर काम भइरहेको छ । संसद भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ’ उनले भने । काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको पनि सिंहको भनाइ छ।
मन्त्रालयका सचिव गोपाल सिग्देलले पुस दोस्रो साता काम सम्पन्न गरिसक्ने गरि कार्यतालिका बनाएर कन्ट्राक्टरले काम गरिररहेको भनदै समितिमा तालिका प्रस्तुत गरेका थिए । आउने अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरि काम अघि बढेको भन्दै उनले तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । समिति सदस्यहरुले आउने अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने गरि काम सक्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित: २३ श्रावण २०८२ १२:५५ शुक्रबार





