खटाइएको स्थानीय तहमा हाजिर नभएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कारबाही गर्ने चेतावनी सरकारले दिएको छ।
गत वर्षको भदौंदेखि गत चैत महिनाभित्र विभिन्न स्थानीय तहमा सरुवा भएर हाजिर नभएका उपसचिव र शाखा अधिकृतलाई सरकारले तीन दिनभित्र रमाना लिएर जान निर्देशन दिएको हो। यसरी हाजिर नहुनेमा उपसचिव र शाखा अधिकृतस्तरका १६ जना प्रमुख प्रशासकीय अधिकृत रहेको सरकारको तथ्यांक छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'लामो समयदेखि खटाइएका स्थानीय तहहरूमा हाजिर हुन अटेर गरी साविककै कार्यालयमा कार्यरत रहने कर्मचारीहरूको विकृति रोक्न मन्त्रालयले उक्त सोह्र (१६) जना कर्मचारीहरूलाई पत्राचार गरिएकोमा आगामी दिनमा समेत अवधि पूरा हाजिर नहुने कर्मचारी उपर कडा कानुनी कारबाही चलाइने।'
सरकारले सम्बधित सबै कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कारबाहीको हुने गरी मिति बिहीबारै पत्रचार गरिएको जानकारी पनि गराएको छ।
प्रकाशित: १० वैशाख २०८३ २०:२३ बिहीबार





