२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछाने र रास्वपालाई नजरअन्दाज गर्ने गल्ती सरकारले नगरोस्: डिपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले सरकारलाई पार्टी सभापति रवि लामिछाने र परिवर्तनका पक्षधरलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित विवेकशील साझा पार्टीसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै अर्यालले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।

सम्बोधनका क्रममा अर्यालले वर्तमान सरकारलाई आफूहरूले टेको लगाइरहेको स्मरण गराउँदै भने, ‘यो सरकारले त्यो गल्ती नगरोस्। रवि लामिछानेमाथि, राष्ट्रिय स्वतन्त्र पार्टीमाथि वा परिवर्तनका पक्षधरमाथि यो सरकारले नजरअन्दाज गर्‍यो भने रास्वपाका तमाम शुभचिन्तक साथीहरू टुलुटुलु हेरेर बस्ने छैनन्।’

उनले सरकारले गलत गर्न खोजे समर्थकहरू सडकमा ओर्लिन बाध्य हुने चेतावनी दिए। ‘उनीहरूलाई सडकमा आउन बाध्य नपारियोस्,’ अर्यालले भने, ‘यो सरकारलाई शंकाको सुविधा दिँदै शान्तिपूर्ण तरिकाको चेतावनी पनि हो।’

कार्यवाहक सभापति अर्यालले हिजोसम्म रास्वपा एक्लो भए पनि विवेकशील साझा जोडिएपछि अझ ठूलो र बलियो शक्ति निर्माण भएको दाबी गरे।

उनले भने, ‘हामी अझै ठूलो र बलियो बनेका छौँ। आगामी दिनमा अरू साथीभाइ, अभियन्ता र दलहरू जोडिँदै जानेछन्।’

सरकार निर्वाचनको म्यान्डेट लिएर आएको भन्दै उनले सरकारलाई आफ्नो मुख्य जिम्मेवारी नभुल्न आग्रह गरे। ‘सरकारले आफ्नो म्यान्डेट नबिर्सियोस् र दायाँबायाँ अन्य केही नसोचीकन निर्वाचन केन्द्रित भएर अगाडि बढोस्,’ उनले भने।

उनले सरकारलाई अझै टेको लगाउन आफूहरू तयार रहेको तर सरकारले सुशासन कायम गर्न र भयरहित वातावरणमा समयमै निर्वाचन गराउन लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: १४ मंसिर २०८२ २१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App