श्रम संस्कृति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य आरेन राईले संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले आफूखुसी निर्णय गर्दै लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि असर पर्ने काम नगर्न चेतावनी दिएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले वर्षे अधिवेशन अन्त्य भएपछि करिब डेढदेखि दुई महिनासम्म संसद् बन्द रहने अवस्था आउन सक्ने भन्दै त्यस अवधिमा सरकारले गर्ने कामप्रति आफूहरूको निगरानी रहने बताए।
उनले सरकारलाई संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि असर पर्ने कुनै पनि कदम नचाल्न आग्रह गरे।
‘अधिवेशन बन्द गरेर अथवा सदन बन्द गराएर तपाईँ कुनै पनि त्यस्तो कुचेष्टा, कुकर्म नगर्नुहोला भन्न चाहन्छु,’ उनले भने।
सांसद राईले आफूहरू सरकारका गतिविधि हेरिरहेको बताउँदै सरकारलाई काम गर्ने अवसर दिइरहेको उल्लेख गरे।
‘हामी सुतेर बसेका छैनौँ, हेरेर बसेका छौँ। समय भर्खरै सुरुवात भएको हो। हामीले तपाईँलाई अपर्चुनिटी दिनुपर्छ अथवा पर्खिनुपर्छ भनेर हेरेर बसेका हौँ,’ उनले भने।
राईले ठूला भ्रष्टाचार तथा अनियमितताका विषयमा पुराना फाइल पुनः खोल्ने र दोषीमाथि कारबाही गर्ने काममा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताए।
‘सरकारले कुनै पनि गलत कार्य, कदम नचाल्नको निम्ति म अनुरोध गर्न चाहन्छु। ठूला–ठूला यस्ता काण्डहरूको विषयमा सरकारले फाइल रिओपन गरेर को–कोलाई थुन्नुपर्ने हो, हामी सहयोग गर्न तयार छौँ,’ उनले भने।
प्रकाशित: १५ आश्विन २०८३ १४:११ बिहीबार


-600x400.jpg)

