१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

न्यायपालिकाको स्वतन्त्रता र गरिमा सरकारभन्दा माथिको विषय हो : आङदेम्बे

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीष्मराज आङदेम्बेले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको घटनाबारे पनि प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेको विषयमा सरकारलाईै प्रश्न गरेका हुन्। 

कुनै आधार, प्रमाण र कानुनी प्रक्रिया बिना मध्यरातमा आफ्नै घरमा सुतिरहेका पूर्वप्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेर लैजानु कानुनी राज्यको उपहास भएको उनको भनाइ थियो। साथै कारणबिनै छाडिएको भए त्यो पनि गैरजिम्मेवारपूर्ण कार्य हुने उनले बताए। 

यद्यपि पूर्वप्रधानन्यायाधीशको हैसियतमा रहिसकेको व्यक्तिले सर्वोच्च अदालतको कामकारबाही तथा राजनीतिक भेटघाटमा अस्वाभाविक चासो वा हस्तक्षेप गरेको भन्ने प्रश्न उठेको भए त्यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा नभई तथ्य, प्रमाण र निष्पक्ष छानबिनका आधारमा टुंग्याउनुपर्ने उनले बताए। 

‘न्यायपालिकाको स्वतन्त्रता र गरिमा कुनै व्यक्ति वा सरकारभन्दा माथिको संस्थागत विषय हो,’ उनले भने। 

सरकार र सम्बन्धित निकायले सबै पक्षलाई समान कानुनी मापदण्डमा राखेर छानबिन गर्नुपर्ने भन्दै उनले राज्यशक्तिको प्रयोगको आधार तथा पूर्वप्रधानन्यायाधीशका गतिविधिबारे उठेका प्रश्नको सत्यतथ्य सार्वजनिक गरी संसदलाई जानकारी गराउनुपर्ने बताए।

उनले संविधानको पालना, विधिको शासन र स्थापित संस्थाप्रतिको निष्ठामा चुक हुँदा लोकतन्त्रका लागि गम्भीर अवस्था सिर्जना हुन सक्ने बताए। 

प्रकाशित: १५ आश्विन २०८३ १४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App