ऐतिहासिक सिंजा सभ्यताको संरक्षणदेखि वर्षौंदेखि अधुरा सडक आयोजनासम्मका माग बोकेर स्थानीय तहले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
जुम्लाको सिंजा गाउँपालिकाको भ्रमणमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सिंजाको ऐतिहासिक सभ्यता संरक्षण र आधुनिक विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्री शाहीले सिंजा सभ्यताको खोज, अनुसन्धान र संरक्षण सरकारको दायित्व भएको बताए। सिंजाका ऐतिहासिक भग्नावशेष तथा पुरातात्त्विक महत्वका सम्पदाको संरक्षणमा संघ र प्रदेश सरकारको प्राथमिकता आवश्यक रहेको उनको भनाइ छ। ‘सिंजा सभ्यताको संरक्षण सरकारको दायित्व हो,’ उनले भने, ‘यसको खोज, अनुसन्धान र संरक्षणसँगै सिंजाको आधुनिक विकासलाई पनि प्राथमिकता दिन्छौं।’
सिंजा गाउँपालिकाले सडक पूर्वाधारलगायत विभिन्न विकास योजनाका लागि बजेट माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजाको विकास निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राख्न आग्रह गरे। उनले धिताललिही-वडा नम्बर ५ र ६ जोड्ने सडक, केदारनाथ जोड्ने सडक, नराकोट-बामालिका सडकलगायतका सडक स्तरोन्नतिका लागि बजेट माग गरेका छन्।
गाउँपालिकाले चुलेलगाउँ-धापा-कनकासुन्दरी सडक निर्माणमा भइरहेको ढिलाइप्रति पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ। लामो समयदेखि अघि बढ्न नसकेको उक्त सडक निर्माणलाई तत्काल गति दिन माग गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका प्रवक्ता तथा वडा -२ का अध्यक्ष तीर्थबहादुर वडले नेपाली भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजाको ऐतिहासिक महत्व संरक्षण गर्न खोज तथा अनुसन्धानको काम अघि बढाउन मुख्यमन्त्रीसँग आग्रह गरिएको बताए। उनका अनुसार सभ्यता संरक्षणसँगै सडक, पर्यटन तथा अन्य पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।
गाउँपालिकाले आफ्नो पाँचवर्षे अवधिमा भएका विकास निर्माणका काम, अधुरा आयोजना र आगामी प्राथमिकताका योजनाबारे समेत मुख्यमन्त्रीलाई जानकारी गराएको थियो। मुख्यमन्त्री शाहीले गाउँपालिकाले अघि सारेका ठोस योजनाको प्रशंसा गर्दै अधुरा आयोजना पूरा गर्न आगामी बजेटमा प्राथमिकता दिने बताए।
‘यस वर्षको बजेट आइसकेको छ। आगामी बजेटमा गाउँपालिकाले दिएका सुझावलाई प्राथमिकता दिइनेछ,’ मुख्यमन्त्री शाहीले भने।
मुख्यमन्त्री शाहीले कर्णालीको महत्वपूर्ण सडक कर्णाली राजमार्ग अन्तर्गतको नाग्म-मुगुगमगडीको अवस्थाप्रति समेत चासो देखाएका छन्।
लामो समयदेखि सडकको अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै उनले सम्बन्धित निकायसँग पहल गर्ने बताए। उनले सिंजाबाट मुगुतर्फ जाने क्रममा नाग्म-गमगडी सडकको स्थलगत अवलोकनसमेत गरेका थिए।
मुगुको विकास निर्माणमा जोड दिँदै मुख्यमन्त्री शाहीले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै संघीयता प्रभावकारी बनाउन सकिने बताए। तीन तहका सरकारबीच समन्वय भए विकासका कामले गति लिने उनको भनाइ थियो।
मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अर्याल पनि मुगु-सिंजा हुँदै सुर्खेत फर्किएकी छन्। भ्रमणका क्रममा जुम्ला, कालिकोट र मुगुका नागरिकले सडक, पूर्वाधार, विकास निर्माण तथा समृद्धिका विषयमा मुख्यमन्त्रीलाई विभिन्न माग राखेका थिए।
प्रकाशित: १९ आश्विन २०८३ १३:४७ सोमबार





