नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत भदौ २४ गतेको ‘जेन-जी’ प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न सरकारले देखाएको उदासीनताप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले सरकारको यस्तो रबैयाले देशमा अशान्ति र असुरक्षा बढ्ने चेतावनी दिए।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले उक्त घटनालाई गृह मन्त्रालयले कारबाही नगर्ने भन्नेतर्फ संकेत गरेको भन्दै त्यसले गम्भीर परिस्थिति निम्त्याउन सक्ने बताए।
‘भदौ २४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भन्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ,’ डा. महतले भने, ‘यदि तत्काल कारबाही अघि बढाइएन भने देशमा अशान्ति र असुरक्षा बढ्छ।’
उनले देशमा अशान्ति र असुरक्षाको वातावरणमा घोषणा गरिएको निर्वाचनमाथि पनि गम्भीर प्रश्न उठ्ने बताए। ‘अशान्ति र असुरक्षाको बीचमा जुन निर्वाचन गर्ने भनिएको छ, त्यो निर्वाचनमाथि नै धेरै ठूलो प्रश्न उठ्छ,’ उनले भने।
प्रवक्ता महतले देशको वर्तमान राजनीतिक परिवेश र चुनौतीबारे छलफल गर्न पार्टीका वर्तमान तथा पूर्वपदाधिकारीहरूको बैठक बसेको जानकारी दिए।
बैठकमा देशले सामना गरिरहेको चुनौतीबाट कसरी अगाडि बढ्ने, लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा कसरी गर्ने र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको उनले बताए।
‘अहिले जुन किसिमको घटनाक्रम देशमा भएको छ, त्यसले हाम्रो सामुन्ने खडा गरेको चुनौती र पार्टीलाई पनि खडा गरेको चुनौतीबाट कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भयो,’ उनले सुनाए।
बैठकको छलफल शुक्रबार दिउँसो १ बजे पुनः बस्ने गरी निरन्तर रहनेछ। असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकअघि पार्टीमा एक समान दृष्टिकोण बनाउन यो छलफल गरिएको महतले जानकारी दिए।
बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको थियो। प्रवक्ता महतका अनुसार, अधिकांश नेताहरूले पार्टीको नियमित महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिएका छन्।
केही नेताहरूले मंसिरभित्रै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने धारणा राखेको र केहीले थप समय चाहिन सक्ने बताएको उनले उल्लेख गरे।
महाधिवेशनकै विषय छलफलको मुख्य केन्द्रमा रहेको उनले स्पष्ट पारे।
प्रकाशित: २३ आश्विन २०८२ १८:३६ बिहीबार





