१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

अधिवेशनपछि अध्यादेशको बाटो खोज्नु सरकारको अपरिपक्वता : महेन्द्रबहादुर शाही

नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशको बाटो रोज्नु संसद्लाई छल्ने प्रयास भएको बताएका छन्। 

सरकारले काम गर्दा अघि बढ्ने र निर्णय गरिसकेपछि पछि हट्ने प्रवृत्ति देखाएको भन्दै उनले सरकारको कार्यशैली परिपक्व नभएको बताएका हुन्। यसअघि सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसबाट सरकारले अपरिपक्वता देखिएको बताए। 

‘संसद् नचलेको बेला आकस्मिक घटना घट्यो, ठूलो विपद् आयो वा राज्यका लागि ठूलो समस्या आयो र तत्काल संसद्मा जान सकिने अवस्था भएन भने आपत्कालीन व्यवस्थाका रूपमा अध्यादेश ल्याउने कुरा हो,’ उनले भने। 

संसद् सञ्चालनमा आएपछि अध्यादेश संसद्मा पेस गरी स्वीकृत गराउनुपर्ने भन्दै शाहीले लामो समय संसद् सञ्चालनमा रहे पनि आवश्यक विधेयक पेस नगर्ने र संसद्को अधिवेशन अन्त्य भएपछि अध्यादेशको बाटो रोज्नु उचित नभएको बताए। 

‘सरकार संसद्लाई छलेर हिँड्न खोजिरहेको छ। त्यो बाटो गलत हो,’ उनले भने। 

शाहीले आवश्यक कानुन फास्ट ट्र्याकबाट संसद्बाटै पारित गर्न सकिने भन्दै सहमति जुटे एक साताभित्रै पनि विधेयक पारित गर्न सकिने बताए। 

‘यत्रो दुई तिहाइको बहुमत संसद्मा छ। आफ्नै सांसदसँग डराएर सरकार अध्यादेशको बाटोमा हिँड्नु गलत हो,’ उनले भने। 

प्रकाशित: १७ आश्विन २०८३ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App