सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण कोषका लागि स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १ मिलियन स्विस फ्र्याङ्क बराबरको उक्त वैदेशिक सहायता लिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार यो रकम विशेषगरी द्वन्द्वकालीन घटनाको सत्य तथ्य अन्वेषण र शान्ति प्रक्रियाका बाँकी कामका लागि खर्च गरिनेछ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणको कामलाई निष्कर्षमा पुर्याउन स्विट्जरल्याण्डले सहयोग उपलब्ध गराएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘यसले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन मद्दत पुग्ने सरकारको विश्वास छ।’
प्रकाशित: २ वैशाख २०८३ १९:१० बुधबार





