सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा आफ्ना धारणा राख्ने अधिकांश सांसदहरूले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
उनीहरूले घरबारविहीन तथा विस्थापित नागरिकको उचित व्यवस्थापन गर्दै खोजी, उद्धार, राहत र पुनःस्थापनामा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुखमार्फत सरकारसँग आग्रह गरे।
सांसद गुरूप्रसाद बराल, सिर्जना श्रेष्ठ, ऐनबहादुर महर, गोपाल शर्मा, हरिमोहन भण्डारी, सोम शर्मा, एशुदाकुमारी अर्याल, रेखाकुमारी यादव, हरिनादेवी कामी, मनमाया विश्वकर्मा, सन्दीप राना, प्रेमबहादुर बयक, यज्ञबहादुर बोगटी, कृष्णहरि बुढाथोकी र बसुमाया तामाङले भोटेकोशी बाढीबाट बेपत्ता भएकाको खोजी तीब्र बनाउन आग्रह गरे।
त्यस्तै शाहजान खातुन, भरतबहादुर खड्का, केपी खनाल, ओजश्वी शेरचन, बुद्धिप्रसाद पन्त, बुद्धरत्न महर्जन, बलावती शर्मा, रमेशकुमार मल्ल, सिता थपलिया, खडकबहादुर बुढा र प्रकाशसिंह कार्कीले बेपत्ताको खोजी, जलविद्युत् आयोजना तथा सुरुङमा फसेकाको उद्धार, राहत, पुनःस्थापना, पूर्वसूचना तथा विपद् व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सांसद गुरूप्रसाद बरालले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार, राहत तथा पुनर्निर्माण कार्यको निरीक्षण र अनुगमन गर्दै सरकारलाई सहजीकरण गर्न उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठनका लागि सभामुखमार्फत ‘रुलिङ’ गर्न माग गरे।
सांसद भरतबहादुर खड्काले बाढीमा परेर बेपत्ता नागरिकहरूको छिटोभन्दा छिटो खोजी गर्न सरकारसँग अनुरोध गरे। उहाँले आवश्यक परे जुनसुकै मुलुकसँग सहयोग र सहायता लिएर नेपाली नागरिकको जीवन जोगाउन तथा तीनवटै सरकारबीच समन्वय र सहकार्य गर्नुपर्ने बताए।
सांसद केपी खनालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको खोजी कार्य तीव्र पार्न सरकारको ध्यानाकर्षण गराए।
ओजश्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने अवस्थातर्फ ध्यान दिन तथा प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरे।
सांसद बुद्धिप्रसाद पन्तले भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पर्सा जिल्लाबाट धेरै जना सम्पर्कविहीन भएकाले परिवारहरू ‘सास र आस’ दुवैको प्रतीक्षामा रहेको बताउँदै खोजी, उद्धार र राहतमा जुट्न आग्रह गरे।
बुद्धरत्न महर्जनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारमा तदारुकता देखाउन र चाडपर्व नजिकिँदै आएकाले विभिन्न राजमार्गका सडक मर्मतसम्भार गरी ढुवानी सहज बनाउन माग गरे।
सांसद बलावती शर्माले बाढीमा हराइरहेका आफन्तका परिवारप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले तीनवटै सरकारबीच समन्वय र सहकार्य गरी बाढी प्रभावितको उद्धार तथा राहतमा जुट्नुपर्ने बताइन्।
सांसद रमेशकुमार मल्लले भोटेकोशीको बाढीमा परी सल्यान जिल्लाका बालबालिकासहित ५२ जना सम्पर्कविहीन भएकाले आफन्तहरू सकुशल उद्धारको प्रतीक्षामा रहेको बताउँदै उद्धारमा तीव्रता दिन आग्रह गरे।
उनले प्रभावितको गाँस, बास र कपासलगायत मानवीय आवश्यकताको परिपूर्ति र प्रबन्ध मिलाउन माग गरे।
सांसद सिता थपलियाले बाढी आएको आठ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनामा प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय रहेको बताउँदै राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवन जोगाउनु रहेको उल्लेख गरिन्।
सांसद खडकबहादुर बुढाले जलविद्युत् परियोजनामा फसिरहेका नागरिकको उद्धारमा सरकारले कुनै पनि कन्जुस्याइँ गर्न नहुने बताए।
सांसद प्रकाशसिंह कार्कीले जलविद्युत्मा फसिरहेका नागरिकको उद्धारका लागि आवश्यक परे विदेशी मुलुकसँग सहायता र सहयोग लिएर उद्धार गर्नुपर्ने बताए।
सांसद ऐनबहादुर महरले उद्धारको माग गरिरहेका नागरिकलाई प्राथमिकतामा राख्न आग्रह गरे।
सांसद एशुदाकुमारी अर्यालले सुरुङभित्र फसेका नागरिक अझै जीवित हुनसक्ने भन्दै कुनै पनि बहानामा खोजी कार्यमा ढिलाइ नगर्न आग्रह गरिन्।
सांसदहरू रेखाकुमारी यादव र हरिनादेवी कामीले जलविद्युत् आयोजना तथा सुरुङमा खोजी र उद्धार कार्य तत्काल तीव्र बनाउन आग्रह गरे।
सांसद मनमाया विश्वकर्माले भविष्यमा विपद्बाट पर्न सक्ने जोखिम न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सन्दीप रानाले रसुवा–भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट हराइरहेकाहरूको खोजी तथा राहत र उद्धार कार्यमा तीव्रता दिन आग्रह गरे।
सांसद प्रेमबहादुर बयकले देशभर हुने सडक दुर्घटना न्यूनीकरणका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।
सांसद यज्ञबहादुर बोगटीले पनि विपद् प्रभावितका विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद कृष्णहरि बुढाथोकीले विपद् आउनुअघि नै जीवन जोगाउने प्रविधिको विकास गर्नुपर्ने तथा विपद्को पूर्वसूचना र तयारीमा ध्यान दिनुपर्ने बताए।
सांसद बसुमाया तामाङले अस्थायी सेल्टरमा गर्भवती, महिला तथा किशोरीका लागि सुरक्षित र मर्यादित व्यवस्था गर्नुपर्ने तथा ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था हुनुपर्ने माग गरिन्।
सांसद शाहजान खातुनले आठ दिन बित्दा पनि परिवारले आफन्त जीवित भए–नभएको जानकारी पाउन नसकेको बताउँदै सरकार गम्भीर हुनुपर्ने उल्लेख गरिन्।
सांसदहरू सिर्जना श्रेष्ठ, गोपाल शर्मा, हरिमोहन भण्डारी र सोम शर्माले पनि बाढी प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका विषयमा सरकारको ध्यानाकर्षण गराए।
उनीहरूले बाढी प्रभावितको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन, महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावितलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: १८ भाद्र २०८३ १६:१८ बिहीबार





