निजामती प्रशासनभित्र अध्ययन र असाधारण बिदामा देखिएको बेथिति नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने तयारी गरेको छ। लामो समयदेखि बिदामा बसेर सम्पर्कविहीन भएका तथा बिदा अवधि समाप्त भए पनि कार्यक्षेत्रमा नफर्किएका कर्मचारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने भएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (जेठ २१) सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदामा रहेका कर्मचारीहरूको विवरण अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र हाजिरी तथा व्यक्तिगत विवरण अद्यावधिक नगराए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।
सूचनामा सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको अवस्था यकिन गर्न भनिएको छ। साथै, बिदा अवधि सकिएपछि कर्मचारी हाजिर भए–नभएको विवरण समेत राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी अद्यावधिक गर्न आग्रह गरिएको छ।
मन्त्रालयका अनुसार अध्ययन वा असाधारण बिदामा गई तोकिएको अवधि समाप्तिपछि पनि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ १५:२६ शुक्रबार





