श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले पछिल्लो समय मुलुकमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गतेको घटनापछि आफूहरू लामो समयदेखि प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए।
उनले उक्त घटनाबारे आफूहरूले प्रश्नसहित सरकारको जवाफ पर्खिरहेको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा आएर जवाफ दिन आग्रह गरे।
उनले भने, ‘१० गते हामीलाई १० वर्ष भन्दा यताकै ठुलो विपत्ति आइलग्यो। त्यो विषयवस्तुमा हामी सबै गम्भीर भयौ। आज एक महिना दुई दिन पुगिसकेछ। हामी लामो समयदखि प्रधानमन्त्रीज्यूको उत्तरको प्रतिक्षामा र कोइसनहरु बोकेर बसेका थियौं। त्यो गम्भीर समयमा हामीले सबैले साथ दिएका छौं। आशा छ अब सरकार प्रमुख आएर हामीलाई उत्तर दिनुहुनेछ।’
यस्तै, उनले हालसालै भएको वर्षामा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले बेपत्ताको खोजीलाई तीव्र बनाउन र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे।
सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले पक्राउ गर्ने र छाड्ने क्रमले गम्भीर विषयलाई समेत खेलाँचीका रूपमा लिएको आरोप लगाए। उनले भरत दाहाल र चोलेन्द्र शमशेरलाई पक्राउ गरी पुनः छाडिएको विषय उल्लेख गर्दै यस्ता घटनामा सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘विषय गम्भीर हो भने सरकार सिरियस्ली लाग्नुपर्छ। नत्र कुन हिसाबबाट सरकारले यस्तो गतिविधि गरिरहेको छ, त्यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
यस्तै, सांसद राईले पछिल्लो समय नागरिकमा अभाव, निराशा र आत्महत्याका घटना बढ्दै गएको भन्दै त्यसको कारण पहिचान गरी समाधान खोज्न सरकारलाई आग्रह गरे।
सरकार र संसद्प्रति नै जनताको असन्तुष्टि बढ्ने वातावरण बनिरहेको भन्दै उनले जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।
आफूहरू प्रतिपक्षमा भए पनि सरकारलाई आवश्यक विषयमा सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
प्रकाशित: १२ आश्विन २०८३ ११:३६ सोमबार





