प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिएकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्ने र सुधारका लागि सहकार्य जरुरी रहेको बताइन्। प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न नाममा झगडा र विमति राख्दा धेरै क्षति बेहार्नु परेको उल्लेख गर्दै अब थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको उनका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए।
उनले भनेकी थिइन्, 'नयाँनयाँ समस्या मात्रै ल्याउनेभन्दा पनि देशमा प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ। समस्या मात्रै तेस्र्याएर होइन, सम्हालिएर हिँडौं। विमतिका कुरा छन् भने आफ्ना मत लिएर जनतामा जाऔँ। जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ।'
प्रधानमन्त्री कार्कीले आफ्ना लागि र सरकारका लागि कोही आफन्त–पराया नभएको उल्लेख गर्दै कुनै पनि कारणले कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, 'तपाईंहरू र अरू जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौं। भ्रष्टाचार प्रकरणका थाती रहेका धेरै मुद्दा अगाडि बढेका छन्। यस मामिलामा पनि चुप लागेर बस्दैनौँ। मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्, यसैमा अल्झिने हो भने देश कहिल्यै उँभो लाग्दैन। त्यसैले सरकार सम्हालिएर अगाडि बढ्छ।'
प्रधानमन्त्री कार्कीले दण्डहीनतालाई प्रश्रय दिए राम्रो नहुने र यसपालि त्यस्तो हुन नदिने बताइन्। 'निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै मारिएका छन्। यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ,' उनले भनिन्।
सरकार चुनावमा जति पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका बताउँदै उनले स्वच्छ चुनावका लागि मितव्ययी ढङ्गले अगाडि बढ्न राप्रपालगायत सबैलाई आग्रह गरिन्।
प्रकाशित: १४ मंसिर २०८२ ०७:०७ आइतबार





