२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकार सस्तो ‘स्टन्ट’ र ‘फण्डा’ मा केन्द्रित भयो : सांसद गिता गुरुङ

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य गिता गुरुङले सरकारले जनता र जनप्रतिनिधिका गम्भीर प्रश्नहरूलाई सस्तो स्टन्ट र ‘फण्डा’ निकालेर विषयान्तर गरेको बताएकी छिन्। 

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले  राष्ट्रिय मुद्दाहरू उठ्दा सरकारले विषयान्तर गर्ने पुरानो शैलीलाई नै निरन्तरता दिएको बताइन्। 

संसदमा बोल्दै उनले भनिन्, ‘मन्त्रीहरुको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्णहरी पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको सामाजिक सञ्जालमा रमाइलो चल्यो। यता कीर्तिपुरस्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा परेर मानिसहरू आपतमा परे, हाहाकार मच्चियो।’ 

उनले देशमा आत्मदाहका तीनवटा गम्भीर घटना घटिसक्दा समेत सरकार संवेदनशील हुन नसकेको बताइन् ।  ‘आत्मादाह जस्तो भयावह घटना हुँदा पनि सरकारले त्यसलाई सम्बोधन गर्नुको साटो अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निवास नजिक गाडी राखिएको फण्डा ल्याएको छ,’ गुरुङले भनिन्। 

यी प्रतिनिधिमूलक घटनाहरूले सरकार वास्तविक समस्याबाट विषयान्तर गर्न माहिर  रहेको उनले बताइन्।  

सांसद गुरुङले गम्भीर विषयहरू सार्वजनिक हुँदा जनताको ध्यान मोड्नका लागि आउने यस्ता सरकारी फण्डाहरू अब नयाँ नरहेको बताउँदै सरकारका यस्ता सस्तो स्टन्ट र भ्रमको पछि नलाग्न नागरिक समाज, सञ्चारमाध्यम र आम सर्वसाधारणलाई समेत विशेष आग्रह गरेकी छिन्। 

प्रकाशित: ३१ असार २०८३ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App