२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारले अपेक्षाअनुसार काम गर्न असफल भयो : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको बतँएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको बताएका हुन्। 

सांसद साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिए। उनले जनताका सवालको जवाफ सरकारले संसद्मार्फत दिनुपर्ने बताए। 

‘सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ। प्रधानमन्त्रीज्यू आएर जनताको प्रश्नको दफावार उत्तर दिनुपर्छ,’ उनले भने, ‘प्रश्नको उत्तर उहाँले दिनैपर्छ।’  

सरकारले सीमा रक्षा, शान्ति सुरक्षा, अत्यावश्यक वस्तुको आपूर्ति, रोजगारी सिर्जना, बजार व्यवस्थापन तथा महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा प्रभावकारी काम गर्न नसकेको साम्पाङको आरोप छ। 

‘प्रधानमन्त्री सीमा रक्षा गर्न नसक्ने, गृहमन्त्रीले सुरक्षा र शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास र मल दिन नसक्ने, श्रम तथा रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने, अर्थमन्त्रीले बजार व्यवस्थापन र महँगी नियन्त्रण गर्न नसक्ने अवस्था छ,’ उनले भने।

साम्पाङले सहकारी पीडितले अझै बचत फिर्ता पाउन नसकेको र न्यायालय तथा स्वास्थ्य क्षेत्रमा समेत जनताले अपेक्षित सेवा पाउन नसकेको बताए। ‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ उनले भने। 

उनले सुनसरीको रामधुनी–७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै स्थानीय बासिन्दालाई न्याय दिन माग गरे। 

त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको बताउँदै उनले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले तत्काल पहल गर्नुपर्ने बताए। 

प्रकाशित: २ भाद्र २०८३ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App