श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता नेपाली नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले बेपत्ताको खोजीका लागि सरकारले पर्याप्त पहल नगरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, त्रिपुरेश्वरमा बसमा आगजनी भएपछि आत्मदाह गरेका अर्जुन दोङको परिवारसँग सरकारले संवाद नगरेको भन्दै उनले आपत्ति जनाए। तामाङको परिवार गृहमन्त्रीसँग भेट गर्न बाहिर कुरिरहेको तर मन्त्रालयभित्र प्रवेश गर्न नदिइएको भन्दै यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।
यस्तै, सांसद राईले पोल्यान्डमा कार्यरत नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको विषय पनि संसदमा उठाए। नेपाल ‘ग्रे लिस्ट’मा रहेको कारण उनीहरुले खाता खोल्न नपाएको उनको भनाइ छ।
पोल्यान्डमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि परराष्ट्र तथा सम्बन्धित मन्त्रालयले तत्काल पहल गर्नुपर्ने माग गर्दै सांसद राईले श्रमजीवी नेपाली युवाको समस्या बुझेर आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे।
प्रकाशित: १४ आश्विन २०८३ १४:०७ बुधबार





