नेकपा (एमाले) का नेता शंकर पोखरेल ले पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा सत्तामा पुगेर पनि सुशासन र विधिको शासन दिन नसके सरकारको औचित्य नरहने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले वर्तमान राजनीतिक परिस्थितिलाई पुराना दलहरूका लागि संकट मात्र नभई आत्मसुधार र पुनर्जीवनको अवसरका रूपमा व्याख्या गरेका छन्। विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार गर्न सके मात्र पुराना राजनीतिक दलहरूले जनविश्वास पुनः प्राप्त गर्न सक्ने बताएका छन्।
पोखरेलले समयमै सुधार गर्न नसके पुराना दलहरूको स्थान अर्को पपुलिस्ट शक्तिले लिन सक्ने भन्दै एउटा पपुलिस्ट शक्तिको पतनपछि त्यसको ठाउँ पुनः अर्को पपुलिस्टले लिने परम्परा रहँदै आएको भन्दै परम्परागत दलहरूले समयअनुकूल रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
उनले नेकपा (एमाले) ले वर्तमान चुनौतीलाई नयाँ सोच र संकल्पका साथ मुलुकलाई संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि बढाउन सक्षम रहेको बताएका छन्।
प्रकाशित: २० असार २०८३ ११:३१ शनिबार





