राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पार्टीको जिम्मेवार पदबाट मुक्त गरेको विषयप्रति कर्णालीका जिल्ला अध्यक्षहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
स्थापनाकालदेखि अनवरत रूपमा पार्टीमा सक्रिय रहेका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरिएको आरोप समेत उनीहरूले लगाएका छन्। सामूहिक वक्तव्यमा बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान् नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएको आरोप लगाइएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको यो कदमले कर्णाली प्रदेशमा पहिल्यै कमजोर संगठन एकातिर थप कमजोर हुनुका साथै कार्यकर्तामा निराशा बढेको उनीहरूको भनाइ छ। यो कार्यप्रति असहमति जनाउँदै पार्टीको बृहत् हितलाई ध्यानमा राखेर उनलाई विधानविपरीत गरिएको कारबाही तुरुन्त फिर्ता गरी पहिलेकै जिम्मेवारीमा नेता गिरीलाई पुनर्स्थापना गर्न अनुरोध गरेका छन्।
यो पनि पढ्नुहोस्
अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई हटाए
सामूहिक वक्तव्यमा जाजरकोटका अध्यक्ष कृष्ण विक्रम शाह, दैलेखका अध्यक्ष भक्त बहादुर शाही, कालिकोटका अध्यक्ष हंस बहादुर मल्ल, मुगुका अध्यक्ष राज बहादुर मल्ल, जुम्लाका अध्यक्ष बेद बहादुर शाही, रुकुम पश्चिमका अध्यक्ष विनोद कुमार शाह, हुम्लाका उपाध्यक्ष प्रेम बहादुर रावत र सुर्खेतकी उपाध्यक्ष अन्जु बस्यालसहितको सहमति रहेको छ।
प्रकाशित: ५ श्रावण २०८२ ०८:५३ सोमबार

