३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने निर्णय रद्द गर्न जेनजी अभियानको माग

राष्ट्रिय जेनजी नागरिक अभियानले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल रद्द गर्न माग गरेको छ।

अभियानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी विषयमा अनुसन्धान तथा छानबिन चलिरहेको दाबी गर्दै उनलाई उपाध्यक्ष नियुक्त गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

अभियानका अनुसार उनीविरुद्ध २०७५ सालदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान विचाराधीन रहेको छ। त्यस्तै, २०४६ सालमा साविक चपली भद्रकाली गाविस–६ का कान्छाबहादुर लामाको नक्कली मोरी बनेर नागरिकता लिएको आरोपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छानबिन भइरहेको विज्ञप्तिमा दाबी गरिएको छ।

विज्ञप्तिमा कान्छाबहादुरका छोरा प्रमाणसिंह लामा र स्थानीय बासिन्दाले नागरिकतासम्बन्धी विषयमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उल्लेख छ। साथै, नागरिकतासम्बन्धी विवरण उपलब्ध गराउने विषयमा पनि प्रश्न उठाइएको छ।

अभियानले सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी विषय छानबिनकै क्रममा रहेको अवस्थामा लुम्बिनी विकास कोषजस्तो धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्वमा नियुक्ति गर्नुले सरकारको सुशासन, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको जनाएको छ।

अभियानले सरकारको निर्णयले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्नसमेत खडा गरेको दाबी गर्दै नियुक्ति तत्काल रद्द गर्न माग गरेको छ।

सरकारले माग सम्बोधन नगरे बृहत् नागरिक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै अभियानले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App