नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसदमा भोटेकोशी बाढीबारे दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले प्रधानमन्त्रीले आधारहीन कुरा दाबीका साथ बोलिरहेको बताएका हुन्। उनले प्रधानमन्त्री शाहले कहिले नेपालले भारतको जग्गा मिचेको र कहिले लेदोसहितको पानी पसेको सुरुङमा उद्धार गर्न सक्ने विज्ञता विश्वमै नरहेको बताएको उल्लेख गरेका छन्।
पोखरेलले भनेका छन्, ‘यस्तो संवेदनशील बेला तपाईं देशको कार्यकारी प्रमुख भएर यस्ता आधारहीन कुरा दाबीका साथ कसरी बोलिरहनुभएको छ?’ यस्ता अभिव्यक्तिले पीडामा रहेका नागरिकमा मनोवैज्ञानिक असर पार्नुका साथै विश्व समुदायमा नेपालको बारेमा गलत सन्देश जान सक्ने उनको भनाइ छ।
हेर्नुस्, उनको फेसबुक स्टाटस :
‘प्रधानमन्त्रीज्यूलाई यस्ता अप्रमाणित कुरा बोल्न कसले सिकाइरहेको छ?
कहिले प्रधानमन्त्रीज्यू रोस्ट्रममा उभिएर भन्नुहुन्छ-‘नेपालले पनि भारतको जग्गा मिचेको छ!’ त कहिले बाढीपीडितको घाउमा नुन छर्दै रोस्ट्रममै उभिएर दाबी गर्नुहुन्छ-‘लेदोसहितको पानी पसेको सुरुङमा उद्धार गर्न सक्ने विज्ञता विश्वमै छैन!’
प्रधानमन्त्रीज्यू, यतिबेला सिंगो राष्ट्र गम्भीर पीडामा छ। जलवायु परिवर्तनको असरले सिंगो मानव समाज आक्रान्त छ। यस्तो संवेदनशील बेला तपाईं देशको कार्यकारी प्रमुख भएर रोस्ट्रममा उभिएर यस्ता आधारहीन कुराहरू दाबीका साथ कसरी बोलिरहनुभएको छ?
यसले पीडामा रहेका नागरिक र सिंगो मानव समाजमा कस्तो गम्भीर मनोवैज्ञानिक असर पार्छ तथा विश्व समुदायमा हाम्रो बारेमा कस्तो सन्देश जान्छ? के कहिल्यै यस विषयमा सोच्नुभएको छ?’
प्रकाशित: १८ भाद्र २०८३ १०:१८ बिहीबार





