सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताएका छन्।
पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने बताए।
‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन। महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो’, उनले भने, ‘पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन।’
राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा व्यक्त गरे।
उनले भने, ‘पार्टीको तल्लो तहमा रही देशका कुना कुनाबाट आएका साथीहरुले रास्वपाको गति र भावना बोक्नेलाई विवेक पुर्याएर मतदान गरिरहेका छन्। यही हो पार्टी जीवनको लोकतन्त्र।’
मन्त्री डा तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाए।
प्रकाशित: ११ असार २०८३ १३:२१ बिहीबार





