पोखरामा भएको जेन-जी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा रत्नचोक र सहिदचोकको बिचमा रहेको मुख्यमन्त्री कार्यालय पुगेका जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गा हानेर तोडफोड गरेका हुन् । तोडफोडबाट मुख्यमन्त्री कार्यालयको झ्यालको सिसा फुटेको छ ।
जेन-जीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा केही युवाको मृत्यू भएको थाहा पाएपछि पोखराका जेन-जी आक्रोषित भएका थिए । त्यसपछि उनीहरुले आक्रमण सुरु गरेका थिए ।
जेन-जी प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र रबरको गोली प्रहार गर्यो । प्रहरीले सयौं सेल अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । निशेधाज्ञा जारी भएपछि भने प्रदर्शनकारी बिस्तारै तितरवितर भएका छन् । अहिले पनि एकाध ठाउँमा प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् ।
यसैबीच, जेन-जी प्रदर्शनकारीले वन मन्त्रालयको गाडी तोडफोड गरेका छन् । गण्डकी प्रदेश उद्योग तथा वन मन्त्रालयको बा.२ झ.४२२ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अग्रभाग र बिचको भाग कुच्चिएको छ भने गाडी स्टार्ट नै नहुने भएको छ ।
नजिकै अर्को खाना पकाउने एलपी ग्यास बोकेको ट्रकको चावीसमेत प्रदर्शनकारीले खोसेका छन् । जसले गर्दा दुबै गाडी सडकमा बेवारिसे हुँदा सो बाटो भएर रत्नचोक निस्कने र मुख्यमन्त्री कार्यालय जाने बाटो अबरुद्ध बनेको छ ।
प्रकाशित: २३ भाद्र २०८२ १६:२९ सोमबार


