भदौ २३ र २४ को जेन-जी प्रदर्शनले नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल ल्यायो । यही आन्दोलनपछि बनेको अन्तरिम सरकार र उठेका आवाजले अहिले जेन-जी के चाहन्छन् भन्ने बहस हुने गरेको छ । जेन-जीहरू भने आफू राजनीतिमा आउने नभइ देशको बागडोर सम्हाल्ने राजनीतिक दल र दलका नेताले नैतिकता भुल्न नहुने सुझाउँदै आएका छन् ।
सबै सम्भावना भएको देश युवा बस्नै नसक्ने अवस्थामा किन आयो ? अब युवालाई स्वदेशमा सम्भावना छ भनेर देखाउने खालको नीति र नेतृत्व चाहिनेभन्दै जेन-जी समूहले पटक पटक फरक फरक मञ्चमा आवाज उठाइ रहेका छन् । उनीहरूको पहिलो र एकमात्र माग गरेको देश भ्रष्टाचारमुक्त हुनुपर्छ भन्ने नै हो । देशमा भ्रष्टाचार नहुने र स्वार्थ समूह हावी नहुने हो भने चाँडै नेपाललाई समृद्ध देशमा सूचीकृत गर्न सकिने जेन-जीसहितका राष्ट्रप्रेमीको विश्वास छ ।
जेन-जी आन्दोलनपछि प्रतिनिधि सभा विघटना भयो । आगामी फागुनमा प्रतिनिधि सभा निर्वाचन गर्ने कार्यादेशसहित नयाँ अन्तरिम सरकार गठन भयो । निर्वाचनको मिति तोकिएपछिका विभिन्न उत्तारचढावले जेन-जी आन्दोलन र जेन-जीले उठाएका माग धुमिल होलान कि भन्ने शंशय भइरहेका बेला फेरि जेन-जीहरू एक ठाउँमा उभिएर देश र जनतालाई प्राथमिकतामा राखेर नेतृत्व गर्ने व्यक्ति शासक नभइ सेवक भएर जनता समक्ष जानुपर्ने आवाजलाई बुलन्द बनाउँदै आएका छन् ।
देशको राजनीतिक अवस्था तथा सामाजिक सञ्जालमा व्यक्त विचारपछि जेन-जी समूहका अगुवा तथा संरक्षकहरूले आफूहरू वर्तमान संविधानको रक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई अबलम्बन गर्दै सम्मून्नत नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताउँदै आएका छन् ।
शनिबार प्रधानमन्त्रीसहित मन्त्रीहरूसँगको छलफलमा पनि उनीहरूले यही कुरा उठाएका छन् । देश सञ्चालन स्वदेशबाटै हुनुपर्छ । हल्लाका भरमा अनावश्यक दवावमा काम हुनुहुँदैन । काम गर्ने प्रणाली नेपालमा नेपालीले नै बनाएर अघि बढ्नुपर्ने कुरा उनीहरूले एक स्वरमा उठाएका छन् ।
निर्वाचनमा भाग लिएर स्वच्छ प्रतिस्पर्धा गर्न आह्वान
शनिबार सरकारसगँको छलफलपछि जेन-जीले फागुन २१ गतेलाई निर्धारण गरिएको निर्वाचनमा सहभागिता जनाउन राजनीतिक दललाई आह्वान गरेका छन् । यो आह्वानमा उनीहरूले दलगत स्वार्थ त्यागेर, राष्ट्रिय आवश्यकता र एकतालाई मध्यनजर गर्दै अघि बढ्न पनि सुझाएका छन् ।
जेन-जी आन्दोलनबाट देशमा भ्रष्टचारको अन्त्य गराउने उदेश्य राखेका जेन-जीले आन्दोलनपछि पुन: दलहरुलाई आगामी चुनावको लागी प्रस्ताव गर्दा आन्दोलनको उद्देश्य निर्वाचननै मात्र हो त भन्ने प्रश्न पनि उठेको छ ।
आन्दोलनका अगुवा मिराज ढुंगानाले भन्छन्, ‘मेरो अनुरोध के हो भने निर्वाचनमा सबै दल आउनुपर्छ । उहाँहरूलाई निर्वाचनमा सहभागी हुनुहोस् भन्ने मेरो आग्रह हो । यो प्रजातान्त्रिक प्रक्रिया हो, कसैले कसैलाई रोक्नेवाला छैन। जनताले छाने भने तपाईं नै निर्वाचित हुनुहोला, तर स्वच्छ प्रतिस्पर्धा हुन्छ, आउनुहोस्।’
उनले मन्त्रिपरिषद्मा युवाको प्रतिनिधित्व हुनैपर्ने बताए । उनले भने, ‘सडकको रगत क्याबिनेटसम्म पुग्नैपर्यो, त्यसमा हामी अडिग छौँ। प्रधानमन्त्रीसँगै छलफलमा मैले आज पनि सोधेँ । उहाँहरूले हुन्छ । जेन-जीले उठाएका आवाजको सम्बोधन हुन्छ भन्नुभएको छ ।’
मिराजले राजनीति दलहरुलाई चुनावको लागी आउन आह्वान गरेसँगै घाइते जेन-जी भने यो विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । उनीहरू उपचाररत नै छन् । अस्पतालको बेडमा रहेका उनीहरूमा एउटै सपना छ हामीले देख्दै देश समृद्ध बनोस् । भ्रष्टाचारको कुनै कुरै नउठोस् । कर्मचारीसहित देशको सेवामा छु भन्नेले हैकम होइन सेवा भावले काम गरोस् भन्ने छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्न नचाहने उनीहरूले आफूहरूका सपना चाँडै पूरा हुनेमा आशावादी रहेको बताए ।
घाइते भएर अस्पतालमा उपचार गराइरहेका र घर फर्किएका जेन-जीहरुको परिवेर र परिस्थिति अनुसार फरक फरक धारणा भए पनि लोकतान्त्रिक व्यवस्थालाई इन्कार गर्न नसकिने र जेन-जी परिवारले पनि लोकतन्त्रमा दललाई अस्विकार नगरेको बुझाइ छ, जेन-जी अभियन्ता मोनिकाको । आफूलाई मोनिकाका नामले मात्र चिनाउने बताउँदै उनले भनिन्, ‘राज्यबाट चर्को दमन भएर आफुहरु घाइते हुदाँ उनीहरुमा आक्रोस हुनु स्वभाविक हो र त्यसको भरपाई राज्यले कुनै हालतमा तिर्न सक्दैन, कति जेन-जी अझै पनि पूर्णरुपमा निको नहुदाँ रिस र आक्रोस देखिनु सामान्य हो । तर अन्तरिम सरकारमा उनीहरुको पनि प्रतिनिधित्व स्वीकार हुनुपर्छ भन्ने धारणलाई हामीले स्वीकारेका छौ।’
जेन-जीहरूले नै राजनीति दल चुनावमा सहभागी हुने कुरामा फरक मतसहितको तयारीमा रहेको बताउँदै उनले दल रुपमान्तरण भएर आउनु पर्ने र पुस्तान्तरणमा जोड दिनुपर्ने मान्यता आफूहरूमा रहेको बताइन ।
जेन-जीका विभिन्न समूह र उनीहरुमा फरक धारणा भएपनि सरकारसगँ वार्ता गरेको समूहले भने देशलाई लोकतान्त्रिक पद्धतिबाटै निकास दिन लागेको छ । प्रधानमन्त्रीसहित राजनीतिक दलले पनि यसमा सकारात्मक प्रतिक्रिया दिएका छन्। जेन-जीका अर्का अभियन्ता आदित्य कर्ण अबको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विषयमा सहमत छन् । उनी भन्छन्, ‘सबै राजनीति दलहरु देशको स्टेक होल्डर हुन् । विगतमा पनि उनीहरुले हजारौं मत ल्याएका हुन् । उनीहरुलाई निषेध गर्न सकिदैन तर अबको चुनावमा आउँदा दलहरुले जेन-जी आन्दोलनको एजेन्डालाई आफ्नो बनाउन सक्नुपर्छ ।’
तत्काल प्रत्यक्ष निर्वाचित देशको कार्यकारी प्रमुख हुन नहुने तर्क आदित्यको छ । उनले भने, ‘देशको कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित प्रणाली तत्काल ल्याउन हुँदैन । कुनै एउटा चर्चित अनुहार विजयी भयो भने उसले अपेक्षाकृत काम गर्न सक्दैन । अनि थप द्वन्द्व र अस्थिरता निम्तन्छ । एकलौटी शासन गर्ने प्रवृत्तिको आयो भने स्वतन्त्रताका लागि फेरि अर्को लडाई लड्नुपर्छ ।’ यस्ता विषय आवश्यकताका आधारमा सामुहिक छलफलबाट मात्र अघि बढाउन सकिने उनले बताए ।
दल निषेध जेन-जी आवाज होइन
जेन-जी अभियन्ताले वर्तमान अवस्थामा राजनीतिक दललाई निषेध गर्ने जेन-जी अवधारणा नभएको बताएका छन् । उनीहरूले दललाई सच्चिन भने पटक पटक दोहोर्याउँदै भन्ने गरेका छन् ।
राजनीतिक दल अहिले देशका लागि काम गर्नुको साटो ०८४को निर्वाचनमा केन्द्रित भएकाले जनताको खबरदारीसहित फागुनमा निर्वाचन गर्न आफूहरूको खबरदारी अभियानले म्यान्डेड दिएको जेन-जी अभियन्ता रक्षा बमले बताइन ।
जेन-जी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेकी बमले लामो समयदेखि एकछत्र राज गरेका राजनीतिक दलबाट दुई दिनको क्रान्तिले सत्ता खोस्न सफल भएको भन्दै अब जनताले आफ्नो प्रनिधिधि सभा आफैँ गठन गर्ने समय आएको बताएकिछन् । उनी भन्छिन्, ‘कतिपय अवस्थामा व्यक्तिहरुले चुनाव सार्न मात्रै आन्दोलन गरेको भन्लान् तर त्यो होइन । अहिलेको अवस्थामा चुनावको कुनै विकल्प छैन । त्यसमा सहमति असहमति हुँदै जान्छन् । विद्रोहबाट सत्ता खोसेर आएपछि ०८४ को चुनाव पखर्ने पक्षमा हामी होइन । तर अबको बाटो यही हो । दललाई निषेध गरेर अगाडी जाने कुरा हुँदैन।’
सरकारले जेन-जी घाइते र शहीद परिवारलाई प्राथमिकतामा राखेर आधारभूत माग पूरा गरेको बमको भनाई छ । उनी भन्छिन्, ‘सरकारले घाइतेलाई कसरी अगाडि बढाउने भनेर काम गरेको र समितिहरु पनि बनाउँदै आएको छ । घाइते जेन-जीले मन दुखाउनु हुँदैन ।’
सबै शहीद परिवार र घाइते जेन-जी पनि चुनावमा आएर आफ्ना एजेण्डासहित जनताबाट अनुमोदित हुनुपर्ने बमको भनाई छ ।
वर्तमान सरकार अन्तरिम भएको उल्लेख गर्दै उनले दुई दिनको आन्दोलनले बनाएको वर्तनमा सरकारको म्यान्डेड नै निर्धारित समयमा निर्वाचन गराउने नै रहेको उनले बताइन । संसद् नभएकाले सरकारको निश्चित क्षेत्राधिकार छ । दीर्घकालीन महत्वका काम र निर्णय गर्ने अधिकार वर्तमान सरकारलाई छैन ।
अहिले सरकारको प्रमुख काम नै जेन-जी आन्दोलनमा भएको दमनको छानविन गर्ने, दोषीलाई कारवाही गर्ने, जेन-जीले चलाएको भष्टाचार अन्त्यको अभियानलाई निरन्तरता दिने रहेका छन् । योसँगै जेन-जी आन्दोलनपछि कुनै समूहलाई अन्तरिक संविधानको आवश्यकता, कसैलाई प्रत्यक्ष निर्वाचित कार्यकारी त कसैलाई राजाको आवश्यकता बढ्न थालेको छ । यो माग अब निर्वाचित हुने संसदले संवैधानिक प्रक्रियाबाटै गर्ने पनि जेन-जी अभियन्ताको आवाज छ ।
युवा राजनीतिक विश्लेषक नविन तिवारीले अब नयाँ म्यान्डेड अनुसार प्रतिनिधि सभा निर्वाचित गरी प्रतिनिधि सभाबाटै संविधान संशोधनसहितका विषय उठान गर्नुपर्छ । उनले भने, ‘जेन-जी आन्दोलनपछि प्रमुख राजनीतिक दलका शीर्ष नेता कमजोर भएका छन् । उनीहरुको पार्टीबाट नै राजीनामा माग भइरहेको छ । यो सबै परिवर्तनको प्रमुख कारण नै जेन-जी आन्दोलन हो।’
पुराना राजनीति दललाई जेन-जीले प्रवृत्ति सुधार गर्न खबरदारी गरेको बताउँदै उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा निर्वाचन बाहेक अन्य विकल्प छैन, जनता सार्वभौमसत्ता सम्पन्न छन् । उनीहरुले अन्तिममा जसलाई भोट दिएर जिताउँछन् त्यहि नै अन्तिम हो र जेन-जीले राजनीतिक दललाई अस्तित्वमा रहन उनीहरुका कार्यशैली, नेतृत्वसहित सबैमा सुधार हुनुपर्ने माग राखेका छन्।’ जेन-जीका यी माग उपयोगी भएकाले सबै दलले आन्तरिक शुद्धीकरण गर्दै सच्चिन आवश्यक रहेको तिवारीले बताए । ्
हरेक नागरिकको प्रमुख दायित्व समाज र राज्यमा भएको गतिविधिको मुल्यांकन गर्नु हो, तर विगतदेखि नै विभिन्न राजनीतिक दलमा लागेका व्यक्ति अवसरवादी, स्वार्थी हुँदा राष्ट्रिय आवश्यकता पहिचान हुन सकनेन । अब निर्वाचनमा सहभागी हुन आउने दल र दलका नेतालाई देश, नागरिक सर्वोच्चता, देशको समृद्धिका योजना र खाका सबै मतदाताले सोध्नुपर्ने आवश्यकता रहेको जेन-जी अभियन्ताहरू बताउँछन् । अब आफ्नो काम गर्ने प्रतिनिधि आफैँले छान्ने समयमा आफ्नो अधिकारको प्रयोग गर्दा योग्य प्रतिनिधि छनौट गर्ने दायित्वबाट नचुक्न नागरिकलाई खबरदारी गर्ने जेन-जी अभियनताले बताउने गरेका छन् ।
प्रकाशित: २६ आश्विन २०८२ १५:४१ आइतबार





-1200x560-600x400.jpg)