चितवनमा जेन-जीले आह्वान गरेको प्रर्दशनका क्रममा २३ जना घाइते भएका छन् । सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार चितवन मेडिकल कलेज लगायत भरतपुरका विभिन्न अस्पतालमा भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ ।
झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको उनले बताए । चितवनको भरतपुरमा दिनभर तनावग्रस्त बनेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको अर्यालले बताए ।
महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर बनेका थिए । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनकारीले साँझ पनि लायन्सचोकमा टायर बालेर प्रर्दशन गरेका थिए । अहिले पनि यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अर्यालले भोलि परिस्थिति हेरेर निर्णय गरिने भन्दै आवश्यक परे कफ्यू समेत लगाइने नागरिक दैनिकलाई जानकारी दिए ।
प्रकाशित: २३ भाद्र २०८२ २०:३१ सोमबार





