१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जेन–जी अभियन्ता भन्छन्: व्यवस्था परिवर्तन खोजेका छैनौँ

सोमबारबाट सुरु भएको जेन–जीको प्रदर्शन मंगलबारसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। सोमबार नयाँ बानेश्वर र इटहरीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार देशैभर आम नागरिक आक्रोशित बनेका छन्। राजधानीमा चलिरहेको आन्दोलन राज्यको नियन्त्रणबाहिर छ। प्रदर्शनकारीले बिहानैदेखि शीर्ष नेताका घरदेखि पार्टी कार्यालयमा तोडफोडसँगै आगजनी गरिरहेका छन्। केही प्रहरी इकाईहरूमा पनि तोडफोड र आगजनी भएका छन्। 

जेन–जीको प्रदर्शनबाट सुरु भएको आन्दोलन अहिले नागरिक स्तरसम्ममा पुगिसकेको छ। सोही कारण सरकारको धरातल पनि हल्लिसकेको छ। सरकारमा सहभागी सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका मन्त्रीहरूले सरकारबाट धमाधम राजीनामा दिइरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउन पार्टीभित्रै चर्को दबाब छ। 

उता सत्तारूढ दल कांग्रेस र एमालेबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि राजीनामा माग भइरहेको छ। विपक्षी दलले त एक सूत्रीय एजेन्डा नै बनाएर प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। 

यस्तोमा अबको निकास के हो त? धेरैको मनमा यो प्रश्न उब्जिरहेको छ। प्रधानमन्त्री ओलीकै निरन्तरतामा यो अवस्था समाधान हुने अवस्था लगभग असम्भव बनिसकेको छ। उनको विकल्पमा बन्ने सरकार कस्तो हुने? भन्ने विषयको छलफल  अहिले चौतर्फी चलिरहेको छ। कतिपयले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै प्रश्न उठाउने पनि गरेका छन्।

यस्तोमा स्वयं जेन–जी अभियन्ताले के भनिरहेका छन्? भन्ने चासो पनि चौतर्फी छ। यस्तोमा नागरिकन्युजले एक जना जेन–जी अभियन्ता युजन राजभण्डारीसँग कुराकानी गरेको छ। प्रस्तुत छ–राजभण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश  

भ्रष्टाचार र ताना शाही प्रवृत्तिविरुद्ध जागरण 

भ्रष्टाचार अत्तर भयो भन्ने कुरा सबैको मनमा थियो। नेपालमा राजतन्त्र सकियो, तर दलका नेतामा त्यही ताना शाही प्रवृत्ति देखियो। अब दलका राजाहरूलाई हटाउनुपर्छ र भ्रष्टाचार अन्त्य गर्नुपर्छ भनेर यो अभियान सुरु भयो। भ्रष्टाचार अन्त्य कसरी गर्ने? त्यसको पनि केही उपचार होला। अहिले भएका नियम कानुनहरू जे–जे छन् ती कानुनको पूर्णतया पालन गर्नुपर्छ भन्ने हो, व्यक्तिवादी धारणाले कानुनको व्याख्या हुनुभएन। यहाँ संवैधानिक निकायहरू एकदमै कमजोर छन्, व्यक्ति हाबी भए। त्यसो हुनुभएन भन्ने धारणा हो। 

घुसपैठ बहाना

हिजो एक समयसम्म ठिकै थियो। पछि कमजोरी घुसपैठ भयो भन्ने छ। घुसपैठ भएपछि हामी आक्रामक भयौँ भनेर प्रधानमन्त्रीबाट कुरा आयो। त्यसमा महत्त्वपूर्ण प्रश्न के छ भने–त्यसमा घुसपैठ भयो मानौँ, घुसपैठ हुँदा विद्यालय पोसाकमा रहेको विद्यार्थी मर्छ? यो ठुलो प्रश्न छ। प्रहरी ताकी ताकी गोली हानेको छ, सबैलाई। त्यो अवस्थासम्म कसरी पुग्यो हेर्नुपर्छ। 

हरेक आन्दोलनमा ब्यारिकेड एभरेस्ट होटेलमा राखिन्छ, त्यहाँ पुग्दासम्म पनि ब्यारिकेड राखिएन। हामी साथीहरूले आग्रह ग¥यौं किन यस्तो भयो? ब्यारिकेड राख्नुपर्छ, भिड उत्तेजनामा जान सक्छ भनेर। त्यसपछि ब्यारिकेड राख्दाराख्दै भिड उत्तेजित भयो। हामीलाई त्यतिन्जेल प्रहरीको व्यवहार वेलकमिङ जस्तो लागेको थियो, त्यो चाहिँ उहाँहरूको योजना जस्तो थियो। ट्र्यापमा पारेर धारणा बनाउने जस्तो देखियो।  पहिला अश्रुग्याँस फायर भयो, त्यसमा कतिपय डेटएक्सपायर भएको पनि भेट्यौँ। पानीको फोहरा एकदमै कम प्रयोग भयो, पहिला त पानी नै एकदमै प्रयोग हुन्छ नि त। त्यसपछि अरूतिर सोचिन्छ। 

त्यही भएकाले आन्दोलन आक्रोशमा गएको हो, तर बाहिर चाहिँ यो घुसपैठ भयो भन्ने छ। अलिअलि सबैतिरबाट आएहोलान स्वतःस्फूर्त। सबै आन्दोलनमा यस्तो हुन्छ, त्यो भनेर सरकार पन्छिन पाउँदैन। यो सरकारको अकर्मण्यताको कारण, गृहमन्त्रीका कारणले। प्रधानमन्त्री त हत्यारा नै हो, उहाँमा मानवता भन्ने छैन। उहाँ त यति गलत लाग्दैनथ्यो, तर अहिले मानवता नै छैन भन्ने प्रस्ट भयो।

बटमलाइनःनागरिक सरकार

अहिले हाम्रो बटम लाइन प्रधानमन्त्रीको राजीनामा। उहाँले बाटो खुल्ला गरिदिनुपर्छ। हिजो संलग्न प्रहरी, प्रशासनको छानबिन हुनुपर्छ र कारबाही हुनुपर्छ। 

राजतन्त्र परिवर्तन भयो, स्वभाव परिवर्तन भएन। अहिलेको समाधानको विकल्प भनेको नागरिक सरकार भनेका छौं। 

आन्दोलन गर्ने मान्छेहरूको जसलाई धेरैभन्दा धेरैले विश्वास गर्छन्, उहाँलाई अवसर दिने। उहाँले ताजा चुनाव गरेर पुराना सबैलाई बढार्ने हो, धेरै मौका दिइसक्यौँ। नयाँ लाग्नुप¥यो। 

राजीनामा गरिसकेपछि अर्को सरकार आउँछ, त्यसपछि चुनाव हुन्छ र त्यसपछि अनुसन्धान सुरु हुन्छ ।

हामीले पहिलो पुस्ताका नेता बाहिरिएर दोस्रो पुस्ताको नेता भनेका छैनौँ, हामीले नागरिक सरकार भनेका छौं अहिले। त्यसपछि चुनाव भनेका छौं। त्यसपछि को आउँछ? को आउँदैन? चुनावले निर्णय गर्छ। 

यही व्यवस्था: उच्चतम लोकतान्त्रिक अभ्यास

यस्तो धारणा नबनोस् कि हामी व्यवस्था नै परिवर्तन गर्न खोजेको जस्तो। त्यो होइन, यही व्यवस्थामा रहेर उच्चतम बाटोमा सही बाटोमा लोकतन्त्र अगाडि बढाउने भन्ने हाम्रो धारणा हो। 

यही संस्थालाई बलियो बनाउनुप¥यो, यही संविधान बलियो बनाउनुप¥यो हामी पछाडि फर्किने त विकल्पै छैन। यहाँबाट कोही पनि पछाडि फर्किन चाहन्न। पछाडि फर्किने भन्दा मेरो पुस्ता म भन्दा पछाडि आउने पुस्ताको संघर्षमै बित्छ। 

नयाँ प्रधानमन्त्री: सर्वस्वीकार्य व्यक्ति 

प्रधानमन्त्रीको विकल्प आन्दोलनले सर्वस्वीकार्य व्यक्ति को हुन्छ भन्ने धारणा बन्छ। आन्दोलनबाट पनि आउन सक्ला कोही। आन्दोलनले जन्माउँला। 

हामीले जेन–जी कै नेतृत्व हुनुपर्छ भनेका छैनौँ। कोही न कोही त स्वीकार्य हुन्छ। सेलिब्रिटी हुनुहोला, हामीलाई पोलिटिकल सेलिब्रिटी चाहियो। 

प्रकाशित: २४ भाद्र २०८२ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App