६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

ओलीको वकालत गर्दै चट्टान बनेर उभिएकी गीता

नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीभित्रको कमजोरी र निर्वाचनको परिणामको अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि मात्रै थोपर्ने प्रवृत्तिको विरोध गरेकी छन्।

एमाले केन्द्रीय कमिटीको जारी तेस्रो बैठकमा बोल्दै अधिकारीले पार्टीको सामूहिक जिम्मेवारीबाट पन्छिएर नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्तिले संगठन बलियो बन्न नसक्ने बताइन्। उनले ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै निर्वाचन परिणामको समीक्षा गर्दा पार्टीभित्रका कमजोरीलाई समेत आत्मसमीक्षाको विषय बनाइनु सकारात्मक भएको बताइन्।

अधिकारीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वमाथि निरन्तर आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइन्। उनका अनुसार यस्ता अभिव्यक्तिले नेता–कार्यकर्ता र आमजनतामा पार्टीबारे नकारात्मक सन्देश जाने भएकाले यस विषयमा गम्भीर समीक्षा आवश्यक छ।

‘जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’ उनले प्रश्न गरिन्, ‘जिम्मेवारी सामूहिक रूपमा लिने तर अपजसको भार कुनै एक व्यक्तिको टाउकोमा मात्र राख्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन।’

पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसको समाधान सामाजिक सञ्जालको आरोप–प्रत्यारोपबाट नभई पार्टीका कमिटी, विधि र संस्थागत प्रक्रियाबाट खोजिनुपर्ने अधिकारीको भनाइ थियो।

उनले एमालेभित्र देखिएका संगठनात्मक कमजोरी, जनतासँग बढ्दै गएको दूरी, युवासँग पर्याप्त संवाद हुन नसकेको अवस्था र सञ्चार क्षेत्रमा देखिएका कमजोरीलाई अब सुधारको ठोस योजनामा बदल्नुपर्ने बताइन्।

निर्वाचन परिणामको समीक्षा गर्दा नेतृत्वमाथि मात्रै प्रश्न उठाउनेभन्दा पार्टीका सबै तह र जिम्मेवार नेताले आफ्नो भूमिकामाथि समेत समीक्षा गर्नुपर्ने उनको धारणा थियो।

अधिकारीले कम्युनिस्ट आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न तथा संविधान र लोकतन्त्रको रक्षा गर्न एमालेभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताइन्।

उनले पार्टीको आगामी प्राथमिकता व्यक्ति र आरोपमा केन्द्रित नभई संगठन सुदृढीकरण र स्पष्ट कार्ययोजनामा हुनुपर्नेमा जोड दिइन्।

‘आजको हाम्रो प्राथमिकता व्यक्ति होइन, पार्टी; आरोप होइन, आत्मसमीक्षा; विभाजन होइन, एकता; र विगतको बहस मात्र होइन, आगामी दिनको स्पष्ट कार्ययोजना हुनु जरुरी छ,’ उनले भनिन्।

बलियो पार्टी निर्माणका लागि आन्तरिक एकताको विकल्प नरहेको उल्लेख गर्दै अधिकारीले पार्टीभित्रको मतभिन्नतालाई संस्थागत प्रक्रियाबाट व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

अधिकारीको अभिव्यक्ति जारी एमाले बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका बेला आएको हो। बैठकमा निर्वाचन परिणाम, पार्टी संगठनको अवस्था र आगामी राजनीतिक कार्यदिशालगायत विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन्।

प्रकाशित: ६ आश्विन २०८३ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App