२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

सरकारसँग गीता गुरुङको प्रश्न : गरिबको बलि कहिलेसम्म?

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी व्यवस्थापन र मुगुका गणेश नेपालीको घटनालाई लिएर सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी परिवारलाई विस्थापित गर्नु अमानवीय भएको बताइन्।

सांसद गुरुङले बागमती किनारबाट हटाइएका परिवारलाई होल्डिङ सेन्टरमा राखेर पर्याप्त पानी, खाना र आधारभूत सुविधा उपलब्ध नगराइएको आरोप लगाउँदै सरकार नागरिकप्रति संवेदनशील हुनुपर्ने बताइन्। उनले झरीको समयमा कुनै पूर्वतयारीबिना परिवारहरूलाई विस्थापित गरिएको भन्दै यसले मानवीय संकट सिर्जना गरेको उल्लेख गरिन्।

सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ र मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे पनि सबै प्रभावित परिवारले रकम नपाएको उनको भनाइ छ। रकम पाएका परिवारले समेत बढ्दो महँगीका कारण तत्काल बसोबासको व्यवस्था गर्न नसकेको उनले बताइन्।

गुरुङले विस्थापित सबै परिवारको खातामा तत्काल राहत रकम जम्मा गर्न, गाँस र बासको संवैधानिक अधिकार सुनिश्चित गर्न तथा स्थायी पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

सांसद गुरुङले राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको घटनाको प्रसंगसमेत उठाउँदै श्रम गरेर जीविका चलाइरहेका नागरिक निराशाको चरम अवस्थामा पुग्नु राज्यका लागि गम्भीर चिन्ताको विषय भएको बताइन्। उनले नागरिकमा आशा जगाउनुपर्ने सरकारको भूमिका कमजोर भएको टिप्पणी गरिन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रेम आचार्यको आत्मदाहको घटनापछि व्यक्त गरेको धारणा स्मरण गराउँदै गणेश नेपालीको घटनालाई पनि राज्यको असफलताका रूपमा समीक्षा गर्न आग्रह गरिन्। श्रम गरेर जीवनयापन गरिरहेका नागरिक बारम्बार चरम कदम चाल्न बाध्य हुनु राज्यका लागि गम्भीर चेतावनी भएको उनको भनाइ थियो।

सांसद गुरुङले सरकारलाई गरिब, श्रमिक र सीमान्तकृत समुदायप्रति संवेदनशील बन्न आग्रह गर्दै नागरिकको जीवन र सम्मानको रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गरिन्।

प्रकाशित: २६ असार २०८३ १७:५१ शुक्रबार