कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत लेख्दै मन्त्री चौधरीले यस घटनाले नेपाली समाजमा हाम्रा छोरीहरू कति सुरक्षित छन् भन्ने गम्भीर प्रश्न उब्जाएको उल्लेख गरिन्।
आफ्नो पारिवारिक अनुभव सुनाउँदै मन्त्री चौधरीले लेखेकी छन्, ‘मन्त्रालयबाट फर्किएपछि साँझ छोरीसँग मोबाइल हेर्दै गर्दा फेसबुकमा गरिमाको तस्बिर देखियो। पाँच वर्षकी मेरी छोरीले सहजै भनिन्, ‘ममी, यो बच्चाको त आँखा र जिब्रो निकालेर मारेको रे।’ त्यो वाक्यले मलाई भित्रैदेखि स्तब्ध बनायो। पाँच वर्षको बच्चाले समेत यस्ता क्रूर घटनाबारे थाहा पाउने अवस्था आउनु हामीले कस्तो समाज निर्माण गर्दै छौं भन्ने गम्भीर प्रश्न हो।’
सिमरामा रहेकी आफ्ना साथी राधा चौधरीमार्फत पीडित परिवारको पीडादायी अवस्थाबारे जानकारी पाएपछि आफूले तत्काल गृहमन्त्रीसँग टेलिफोन संवाद गरेको उनले उल्लेख गरेकी छन्।
कुराकानीका क्रममा गृहमन्त्रीले घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेको, परिवारसँग समन्वय भइरहेको र गम्भीरतापूर्वक छानबिन अघि बढाइएको जानकारी दिएको मन्त्री चौधरीले बताइन्।
सरकारको तर्फबाट तत्काल पहल र अनुसन्धान अघि बढाएकोमा गृहमन्त्री तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै उनले पीडित परिवारलाई न्याय दिलाउन आफ्नो तहबाट निरन्तर समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘म स्वयं थारू समुदायबाट आएको र जनप्रतिनिधिका रूपमा सरकारमा रहेकाले यो घटना मेरो लागि अझ संवेदनशील विषय हो,’ मन्त्री चौधरीले भनिन्, ‘गरिमाको परिवारले भोगिरहेको पीडा एउटा परिवारको मात्र नभई समाज र राज्यकै लागि गम्भीर चेतावनी हो। यस जघन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाही हुनेछ र परिवारले न्याय पाउनेछन्।’
छोरीहरूले कुनै डर वा त्रासविना सुरक्षित भविष्यको सपना देख्न सक्ने समाज निर्माण गर्न सबैलाई एकजुट हुन आग्रह गर्दै मन्त्री चौधरीले दिवंगत बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन्।
प्रकाशित: ६ भाद्र २०८३ १६:१५ शनिबार





