दैलेखको नौमुले गाउँपालिकाका दुर्गम बस्तीहरूमा फैलिएको ज्वरो र रुघाखोकीको प्रारम्भिक परीक्षणमा डेंगु, मलेरिया, टाइफाइड र स्क्रब टाइफस ‘नेगेटिभ’ देखिएको छ।
स्वास्थ्यकर्मीको टोलीले चार दिनसम्म प्रभावित क्षेत्रमै पुगेर गरेको अध्ययनबाट विद्यालय जाने बालबालिकाबाट घरपरिवार र समुदायमा संक्रमण फैलिएको निष्कर्ष निकालिएको हो।
स्वास्थ्य सेवा कार्यालय दैलेख र नौमुले गाउँपालिकाको संयुक्त स्वास्थ्य टोलीले वडा नं-३ को भाँडे तथा वडा नं-२ का ठूलो चम्लाए, निर्गा र भावसैनीमा पुगेर २०९ जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो।
परीक्षण गरिएका सबै नमुनामा प्रमुख मौसमी रोगहरू नेगेटिभ देखिएकाले यकिन कारण पहिचान गर्न थप प्रयोगशाला परीक्षण र नियमित निगरानी आवश्यक रहेको टोलीमा संलग्न जनस्वास्थ्य अधिकृत चक्र शाहीले जानकारी दिए।
अध्ययनका क्रममा सुरुमा बालबालिका बिरामी परेको र त्यसपछि परिवारका अन्य सदस्यमा लक्षण देखिएको पाइएको छ। यसैलाई ध्यानमा राख्दै स्वास्थ्य टोलीले श्री वीरेन्द्र आधारभूत विद्यालय निर्गामा पुगेर विद्यार्थी र शिक्षकलाई सरसफाइ तथा संक्रमणबाट जोगिने उपायबारे सचेतना दिएको छ।

यसैबीच, बिरामीको चाप र स्थानीयको सास्तीलाई मध्यनजर गर्दै गत असारदेखि बन्द रहेको भाँडे कागते सामुदायिक स्वास्थ्य इकाइ पुनः सञ्चालनमा ल्याइएको छ।
नौमुले गाउँपालिकाले कर्मचारी खटाएपछि उक्त इकाइबाट नियमित आधारभूत स्वास्थ्य सेवा सुरु भएको हो। यसअघि यहाँका नागरिक सामान्य उपचारका लागि पनि २ देखि ४ घण्टा पैदल हिँडेर नौमुले प्राथमिक स्वास्थ्य केन्द्र वा द्वारी स्वास्थ्य चौकी पुग्न बाध्य थिए।
अध्ययन टोलीमा डा. विवेक आचार्य, जनस्वास्थ्य अधिकृत चक्र शाही, सम्राट रेग्मी, ल्याब टेक्निसियन नरेश खड्का, अहेब अविनाश साह र वरिष्ठ अहेब इन्द्र बी.क. लगायत खटिएका थिए।
टोलीले वर्षायाममा दूषित पानीका कारण समस्या झन् बल्झिन सक्ने भन्दै स्थानीयलाई पानी उमालेर मात्र पिउन र लक्षण जटिल देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रकाशित: ६ भाद्र २०८३ १५:४४ शनिबार





