४ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु

गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ‘बजेटमाथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरे ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले अघिल्ला बजेटको तुलनामा अहिलेको बजेटमा चालु खर्च घट्नु र पुँजीगत खर्च बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले बजेटमा समेटिएका रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, कृषिको बजारीकरणलगायत कार्यक्रम कार्यान्वयनमा जोड दिए ।

प्रदेशसभा सदस्य लिलबहादुर थापा मगरले नागरिकको माग र आवश्यकतामा आधारित भएर बजेट ल्याउने प्रयास गरेको बताए । सरकारले चालु खर्च कम गर्दै जानुपर्ने उनको भनाइ छ । उनले बजेट निर्माण र वितरणमा प्रणाली बसाल्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आन्तरिक राजस्व बढाउन नसक्दा घाटा बजेट बनाउनुपर्ने अवस्था रहेको बताए । उनले प्रदेश सरकारले वर्षौँअघि घोषणा गरेका लोकाहाखोला र पूँडीटार औद्योगिक क्षेत्र निर्माण अगाडि बढाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य बिन्दु पौडेलले ‘रिटर्न टु भिलेज’ लगायत आर्थिक उत्पादन र रोजगारी सिर्जनाका महत्त्वपूर्ण कार्यक्रमलाई बजेटले समेटेको बताए । पुँजीगत बजेट समयमा खर्च हुन नसक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशसभा सदस्य पार्वती तामाङले सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट आएको बताइन । उनले नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई जोड दिइनु बजेटको सकारात्मक पक्ष भएको बताइन । 

प्रकाशित: ४ असार २०८३ २१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App