लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेश भूगोल तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित नेविसंघका पूर्व सहमहामन्त्री समेत हुन्। कांग्रेस महामन्त्री प्रदीप न्यौपानेले नेविसंघको नेतृत्व सम्हाल्दा न्यौपाने सहमहामन्त्री थिए। उनी पार्टी सभापति गगनकुमार थापाबाट प्रशिक्षित भइ कांग्रेसको राजनीतिमा लागेका थिए।
कांग्रेसको १४ औँ महाधिवेशनमा लुम्बिनी प्रदेश सदस्यका रूपमा निर्वाचित भएका न्यौपानेले कांग्रेस लुम्बिनी प्रदेश पार्टी प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए। २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका उनी दाङ २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सांसद न्यौपानले २०८१ साउन देखि २०८३ साउनसम्म लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारीमा समेत रहेका थिए।
नेविसंघको लामो राजनीतिबाट आफूलाई कांग्रेसको उँचो राजनीतिक यात्रामा पुर्याएका न्यौपानेको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक पृष्ठभूमि हो। उनका बाजे जुद्धबहादुर न्यौपाने २०१५ सालमा सांसद चुनिएका थिए। पहिलो आम निर्वाचनमा निर्वाचित जुद्धबहादुर पहिलो संसदका सांसद हुन्। जुद्धबहादुर त्यो निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ८१ सल्यान दक्षिण पूर्वबाट सांसद पदमा निर्वाचित निर्वाचित भएका थिए।
यसैगरी, न्यौपानेका बुवा भरतबहादुर समेत कांग्रेस राजनीतिमा लामो समयदेखि सकृय छन्। दाङ कांग्रेसमा निर्णायक भूमिकामा रहँदै आएका भरतले क्षेत्रीय सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए। यसैगरी, उनी पूर्वमहासमिति सदस्य समेत हुन्।
बाजे, बुवाको राजनीतिक योगदान पश्चात प्रचण्डले उक्त परिवारबाट नेपाली कांग्रेसको उँचो ओहदाको राजनीतिक यात्रा नापेका छन्। युवा नेता केन्द्रीय सदस्य न्यौपानेले आफ्नो विजयलाई बलियो कांग्रेस निर्माणको आधारका रूपमा प्रष्ट्याएका छन्। उनले भने, ‘कांग्रेसलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने अहिलेको दायित्व पूरा गर्ने जिम्मेवारी म माथि थपिएको छ, यो जिम्मेवारी पूरा गर्नका लागि मेरो आगामी यात्रा अगाडि बढ्ने छ।’
प्रकाशित: २ कार्तिक २०८३ १०:४० सोमबार





