२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

गगन थापाको प्रश्न : भदौ २३ मा नौजवानहरू किन मारिए,सत्य स्थापित हुनु पर्दैन ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग र दमनबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत उनले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गर्न सडकमा आएका युवामाथि अत्यधिक बल प्रयोग भएको र धेरै नौजवानको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी कसैले न कसैले लिनुपर्ने बताए। 

‘नौजवानहरू किन मारिए? के कारणले मारिए? यसको जिम्मेवारी कसैले लिनु पर्दैन? के सत्यतथ्य बाहिर आउनु पर्दैन? के सत्य स्थापित हुनु पर्दैन?” थापाले प्रश्न गरेका छन्। उनले केही व्यक्तिलाई पक्राउ गर्दैमा वा पक्राउ गरेको जस्तो देखाउँदैमा भदौ २३ को घटनाको जिम्मेवारी पूरा नहुने भन्दै सरकारमा रहेका व्यक्तिहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ। 

‘सत्यतथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ, उसले दण्ड पाओस्,’ थापाले भने। सभापति थापाले भदौ २३ गतेको आन्दोलनलाई केवल तत्कालीन सरकारविरुद्धको प्रदर्शनका रूपमा बुझ्न नहुने पनि बताए। युवाहरू भ्रष्टाचारमुक्त राज्य, सुशासन र समान अवसर भएको समाजको मागसहित सडकमा आएको उनको भनाइ छ। 

‘त्यो दिन नौजवानहरू केवल एउटा सरकारका विरुद्धमा नाराबाजी गर्न मात्र सडकमा आएका थिएनन्। उनीहरूको स्पष्ट माग थियो, भ्रष्टाचारमुक्त राज्य, सुशासन र समान अवसर भएको समाज,’ उनले भने। युवाहरूले उठाएका माग जायज रहेको र ती माग पूरा नभएका कारण व्यक्त भएको आक्रोशसमेत जायज भएको थापाले बताए। आन्दोलनको आवाज समयमै बुझ्न नसक्नु राजनीतिक दलहरूको कमजोरी भएको उनको स्वीकारोक्ति थियो। 

‘त्यो आक्रोश हामीले समयमा बुझेनौँ। त्यसको जिम्मेवार हामी हौँ,’ उनले भने। 

उनले भदौ २३ गते सडकमा कुनै एउटा व्यक्ति वा समूह मात्रै नभई एउटा पुस्ता नै आएको र उक्त पुस्ताले उठाएको आवाजलाई कुनै एउटा दल वा व्यक्तिले आफ्नो स्वामित्वमा लिन नसक्ने उनको भनाइ छ। 

‘त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, एउटा पुस्ता नै आएको थियो,’ थापाले भने, ‘त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर बन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन। त्यो हामी सबैको जिम्मेवारी हो।’ 

युवाहरूले उठाएका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सबै राजनीतिक दल र राज्य पक्षको भएको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए। 

उनले भ्रष्टाचारमुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य र समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादत भएका युवा र त्यो सहादतलाई खेर जान नदिने आफ्नो हाम्रो संकल्प रहेको बताए। 

प्रकाशित: २३ भाद्र २०८३ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App